हरिकृष्ण गौतम
बेनी नगरपालिका–७,मंगलाघाटमा एउटा टालटुल पारेको अस्थायी छाप्रो भित्र धवलागिरि गाउँपालिका–६ मराङका रविन विकले ठेकी बनाउँदै हुनुहुन्छ । मेसिनको सहायताको काठको परम्परागत ठेकी तयार भएको केही मिनेटमै बिक्री हुदैछ । विकले जंगलमा पाइने गिठेदार काठबाट विभिन्न कलात्मक सामग्री उत्पादन गरेर स्वदेश तथा विदेशमा बिक्री गर्ने गरेका छन् । बैदेशिक रोजगारीमा कुवेतमा पुगेको तीन महिनामै भयानक दुर्घटनामा परेपछि परेपछि ९ महिनामा खुट्टामा स्टिल राखेर नेपाल फर्किए । उनको खुट्टामा अझैपनि स्टिल छ ।
घाईते अवस्थामा बैदेशिक रोजगारीबाट फर्किएका विकले बैदेशिक रोजगारीलाई बिट मात्रै मारेका छैनन् प्लास्टिकजन्य भाँडाकुँडाको बढ्दो प्रयोगका कारण पुख्र्यौली पेसा नै लोप हुने अवस्थामा पुगेपछि उद्योग नै स्थापना गरी ब्यवसायिक रुपमा सञ्चालन गरेका छन् । स्थानीय धर्मराज बानियाँले उद्योगका लागि आवशयक पर्ने जग्गा मासिक रु १ हजार रुपैयाँ भाडा लिएर उपलब्ध गराएका छन् ।
यूवाले पुख्यौली पेशालाई निरन्तरता दिएको देखेर निकै उत्साहित जग्गाधनीले सस्तौ मुल्यमा मेसिनसहित आवश्यक उपकरण राख्न मिल्ने जग्गा उपलब्ध गराएपछि बिक प्रफुल्ल छन् । निःशुल्क नै मागेपनि दिन तयार हुनुहुन्थ्यो तर, भाडा तिरेपछि मेरो पनि जिम्मेबारी तथा कमाईको आधार थप बलियो हुन्छ भनेर जग्गाधनी बानियाँले आफै भाडाको प्रस्ताव गर भनेको बिकको भनाई छ ।

अहिले उत्पादनदेखि बिक्रीमा भ्याइनभ्याई छ । ‘मैले काठको साम्रागी बनाएर विदेशमा जस्तै कमाउँन सक्दिन होला, तर यहाँको कमाईभन्दा पुख्यौली पेशालाई अंगाल्न सकेकोमा सन्तुष्टी छु, अब मेरो उमेरका यो पेशामा आउने सम्भावना पनि न्युन छ’ विकले बेनीअनलाइनलाई भने ।

उनले आफ्नो उद्योगका लागि स्थानीयबासीको साथ र सहयोगबाट समेत उत्साहित भएको बताए । उनले उत्पादन गरेका काठका सामग्री अहिले स्वदेशका विभिन्न ठाउँसँगै विदेशसम्म पनि पुग्ने गरेका छन्।

‘दही जमाउने काठको ठेकी विदेशमा पनि पठाएको छु। प्लास्टिक तथा स्टिलका भाँडाको प्रयोगले चुनौती भए पनि यही व्यवसायबाट सफल हुन संघर्षरत छु,’ विकले भने । युवा पुस्ता रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला विक भने विदेशबाट फर्केर आफ्नै माटोमा सम्भावना खोजिरहेका छन्। उनले विदेशमा काम गर्दा खुट्टामा दुर्घटनाको स्टिल भए पनि हातमा पुर्खाबाट आएको सीप भएको बताए ।

उनले हजुरबुबा र बुबाबाट आएको पुख्यौली पेशाको सीपले अहिले खर्च कटाएर मासिक ४० हजार कमाइ हुने गरेको बताए । काठको ठेकी वर्षौँसम्म टिकाउ हुन्छ। ठेकीमा दही जमाउन र मोही पार्न सहज हुनुका साथै स्वादसमेत राम्रो हुने भएकाले यसको माग अझै रहेको अनुभव छ। ग्रामीण क्षेत्रबाट गिठेदार काठ खरिद गरी बेनीमा ल्याएर ग्राहकको मागअनुसार विभिन्न सामग्री बनाउने गरेको विकले बताए । हाँले पुचै आरी, माना–पाथी, तुम्बा, थाल, कचौरा, गिलास, खुर्पेटालगायत सामग्री बनाउँदै आएका छन् ।

उनको उद्योग बेनीमा छ, अर्डर अनुसारको बनाएर सस्तो भाडा भएकाले तातोपानीमा रहेको कोठामा बस्न जान्छन् । घरबाट बिक्री नभएका सामग्रीलाई मेला–पर्व, सहरबजार तथा ग्रामीण क्षेत्रमा लगेर बिक्री गर्ने गरिएको बताए । अनुसार न्यूनतम २ सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका काठका सामग्री उत्पादन हुँदै आएका छन् । स्थानीय अर्जुन केसीले काठका साम्रागीहरु उत्पादन गरी बजारमा लैजान आवश्यक प्रोत्साहन गर्ने गरेको स्थानीय अर्जुन केसीले बताए । उनका अनुसार प्रोत्साहनका लागि सामान खरिद तथा बिक्रीमा समेत सघाउने गरिएको छ ।









