आफ्नो स्वर्गीय आमाको स्मृतिमा म्याग्दीको बेनी नगरपालिका २,ज्यामरुककोटस्थित खड्ग भवानी आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी, विद्यालय पोशाक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
स्वर्गीय आमा सरिता सुवेदीका छोरा हाल अमेरिकामा रहेका सागर सुवेदीको आर्थिक सहयोग तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) म्याग्दीको समन्वयमा विद्यालयका विद्यार्थीलाई ३७ थान ट्र्याकसुटसहित स्टेशनरी, खेलकुद तथा अन्य आवश्यक गरी ७२ हजार बराबरको वितरण गरिएको हो।

सोही अवसरमा कार्यक्रममा तीजको अवसरमा दर खाने कार्यक्रमसमेत आयोजना गरिएको थियो। स्ववियु म्याग्दीका अध्यक्ष संगम चोखालले विद्यालयका विद्यार्थीको आवश्यकता अनुसार सहयोग गरिएको बताए । विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताए। विद्यार्थीको आवश्यकता पहिचान गरी आगामी दिनमा पनि सहयोग तथा समन्वयलाई निरन्तरता दिने उनको भनाइ थियो।

उनका अनुसार सहयोगदाताको सक्रियतमा आगामी दिनमा पनि रचनात्मक कार्य गरिने बताए । कार्यक्रममा विद्यालयका प्राध्यापक कृष्णबहादुर चर्मकारले विद्यार्थीलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध हुँदा उनीहरूको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सकारात्मक प्रभाव पर्ने बताए। उनले विद्यालय र विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि पूर्णबहादुर सुवेदीले विद्यार्थीको उज्ज्वल भविष्यका लागि आफूहरूले सकेको सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले सहयोगले विद्यार्थीलाई अध्ययनमा थप उत्साहित बनाउने विश्वास व्यक्त गरे।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सामग्री सहयोग गरिएको र तीजको अवसरमा दर खाने कार्यक्रमसमेत आयोजना गरिएकाले कार्यक्रमले विद्यार्थी तथा विद्यालय परिवारमा उत्साह थपेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) म्याग्दीले जनाएको छ।











