स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज म्याग्दी सहित देशैभर एकैपटक र निर्वाचन हुँदैछ । निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ भने मतदाता, उम्मेदवार सहितको टोली मतदान केन्द्र आसपासका क्षेत्रमा देखिन थालेका छन्। म्याग्दी जिल्लाभर ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार ३७५ मतदाता छन् । २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले सबै तयारी पुरा भएको जानकारी दिदैं निर्धारित समयमै मतदान सुरु हुने जनाएको छ । ६ वटा स्थानीय तहका ४५ वडामा ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको छ ।

११४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ सहयोगी कर्मचारी गरी कूल ५६१ छन् । जिल्लामा ९६ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ६१८ म्यादी प्रहरी भर्ना भएका छन् ।

मतदान केन्द्रमा २७७ सहित ३८० नेपाल प्रहरी खटिने भएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । जिल्लाभरको मतपेटिका सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा आजै रातिसम्म ल्याइने छ ।

Leave a Reply