हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका-१,आनन्दबगरकी तिलकुमारी थापामगर तीन दिन यता घर नजिकैकको टनेलमा रात विताउनुभएको छ । लगातारको बर्षाका कारण उर्लिएको कालिगण्डकीले घरमा क्षती पुगेपछि मध्यरातमा बेनीबाट छोरी सारदा राना मगरको सूचना दिएपछि ९३ बर्षिय कर्णबहादुर थापा मगरसहित १२ जनाले भागेर ज्यान जोगाउनुभएकी तिलकुमारीको घरभित्र कालिगण्डकीको छालले सबै बगाएर लगेको छ ।
मध्यरातमा बेनपा–६, की वडा सदस्य समेत रहनुभएकी छोरी सारदा रानाले फोन गरेको केही समयमै कालिगण्डकी नदी घरकै आगमनबाट बग्न थालेको तिलकुमारीले बताउनुभयो ।

‘छोरीको एक फोनले परिवारका सबै सदस्यको ज्यान जोगियो, बुढा ससुरालाई खेततर्फ लगेर ज्यान जोगाइयो, जोखिम बढेको छ, तत्कालै घरमा फर्किने अवस्था छैन।’’ तिलकुमारीजस्तै आनन्द बगरकै भोजबहादुर घर्तीको घरको करेसाबारीमा बालुवाको थुप्रो छ । घरभित्रको अन्नबाली, लत्ताकपडासहित कुखुराको खोर नै बगाएको छ । आइतबार मध्यरातमा नदीले कटान गरेपछि सामान समेत निकाल्न नपाएको भोजबहादुरले बस्तीको सुरक्षाका लागि पक्की संरचना माग्दा–माग्दै बगेको बताउनुभयो । ‘बस्तीलाई जोगाउन पक्की संरचना माग्दा कसैले सुनेनन्, अहिले कालिगण्डकी नदीले नै तहसनहस बनाएको छ’ भोजबहादुरले भन्नुभयो।

कालिगण्डकी नदीले बगाएको अन्नबाली पशुचौपायालाई खुवाउन पानीले पखाल्दै गर्नुभएका भोजबहादुरले सरकारका अधिकारीहरुलाई आफ्नो गाउँमा आउन अनुरोध गर्नुभयो । आनन्द बगरका १० घरघुरीसहित बस्ती अगाडीको ८० प्रतिशत भाग कटान गरेको छ । नदी कटानले बस्ती उजाड भएको छ ।

‘मेरो ५ रोपनी खेतबारी नै बगाएको छ, अन्नबाली समेत केही छैन, राहतसँगैहाम्रो बस्तीमा सरकारले नजर लगाउनुप¥यो,जीविकोपार्जन लगाएको तरकारी खेती नै बगाएको छ’ स्थानीय मनबहादुर क्षत्रीले भन्नुभयो । बाढी र कटानको डरले घरमाथिको खेतमा बस्दै आएका स्थानीयले कालीगण्डकीले कटान गरेर जोखिम कम भए घर मर्मत गरी बस्तीमै बस्ने योजना बनाएका छन् ।

अहिले स्थानीयबासी, साहरा समुह, म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनसहितको टोलीले घरभित्र पसेको लेदो ब्यवस्थापनमा सघाइरहेका छन् । कालिगण्डकी नदीको कटानको दीर्घकालीन समाधान नहुँदा बर्षेनी बर्खाको समयमा त्रासमा दिन विताउने गरेकोमा राज्यका निकायले नदी संरक्षणमा चासो नदेखाउँदा बस्तीमा क्षती पुगेको गुनासो गरेका छन् । जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सोमबारसम्म ७ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका भने करिब २ सयभन्दा बढीको उद्धार गरिएको छ ।
















