---Advertisement---

बेनी–दरवाङ सडक तीन दिनभित्र एकतर्फी सुचारु गरिने

On: September 29, 2026 9:32 PM
Follow Us:

अविरल वर्षासँगै विभिन्न ठाउँमा बाढीपहिरोले अवरुद्ध बेनी–दरवाङ सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत उपकरण परिचालन गरेर आइतबार अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएकोमा मङ्गलबार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरो खुलाइएको पुर्वाधार विकास कार्यालय म्याग्दीका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) राजेश उलकले जानकारी दिनुभयो ।

जिल्लाका धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । बाढीपहिरोले बेनी–दरबाङ सडकखण्ड अन्तर्गत फापरखेत पहिरोसहित सिम, पानाबगर, बलौटे, लामपाटा लगायत विभिन्न ठाउँमा ठुलो क्षति पुर्‍याएको छ ।

उहाँका अनुसार साना सवारी साधनको लागि एकतर्फी मात्र भएपनि तीन दिनभित्रमा बेनी–दरवाङ सडकमा सिधा यातायात सुचारु गर्नेगरी मर्मतको काम भइरहेको छ । ‘‘बाढीपहिरोले हाम्रो क्षमता नभ्याउने गरी धेरै ठाउँमा ठुलो क्षति पुर्‍याएको भएपनि दुई, तीन दिनभित्र साना सवारी साधनको लागि मात्र भएपनि बेनी–दरवाङ सडकमा एकतर्फी यातायात सुचारु गर्नेगरी मर्मतको काम भइरहेको छ’’, इन्जिनियर उलकले भन्नुभयो ।

बेनी–दरवाङ–मुना–ढोरपाटन सडकलाई राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग तथा पश्चिम म्याग्दीको महत्वपुर्ण जीवनरेखा (लाइफलाइन) मानिन्छ । यसैगरी बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने बेनीदेखि गलेश्वरसम्म निर्माण व्यवसायी निरज भण्डारीको व्यक्तिगत लगानीमा सडक मर्मत गरी सुचारु गरिएको छ । 

पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग , खामभित्ता लगायत क्षेत्रमा कटान गरेको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्ना मातहत रहेका सडकहरुलाई मर्मत गरेर जतिसक्दो छिटो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो  । कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । मुस्ताङबाट स्याउ र च्याङग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ ।

Leave a Comment