म्याग्दीमा अविरल वर्षासँगै आएको पहिरोमा परी बेपत्ता बेनी नगरपालिका–३ छेपारेकी कुमारी बिकको शव फेला नपरेपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको बर्षाका कारण पहिरोमा पुरिएर बेपत्ता भएपछि खोजीकार्य गर्दा समेत कुनै अत्तोपत्तो नलागेपछि आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बेनीअनलाइनलाई बताउनुभयो।
‘पहिरोमा बेपत्ता भएको परिवारलाई जानकारी छ,खोजीकार्यबाट फेला नपरेपछि अन्त्येष्टी गरेको जानकारी आएको छ, अब मृतकको सूचीमा राखेर थप प्रक्रिया अगाडी बढ्छ’ सहायक प्रजिअ आचार्यले भन्नुभयो । मृतक विकको शवसमेत देख्न नपाई अन्तिम संस्कार गर्नुपर्ने अवस्थामा आफन्त भाबुक बनेका थिए । पहिरोले भकिम्लीका विभिन्न स्थानमा भौतिक तथा पशुचौपायामा क्षती पुगेको छ भने खेतीयोग्य जमिन समेत बगेको छ ।
जिल्लामा हालसम्म बाढीपहिरोका कारण सोमबारसम्म ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । यही असोज ८ देखि ११ गतेसम्मको बर्षाका कारण पहिरोमा पुरिएर जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ की १९ वर्षीय सबिन चोचाङ्गी,अन्नपूर्ण–३ फगामकी ५४ वर्षीया योगमाया पाईजा र ७५ वर्षीया शिलकुमारी गर्बुजा, अन्नपूर्ण–५ का ७५ बर्षिय ओमबहादुर तिलिजाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । पहिरोले पुरिँदा मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुन तथा अन्नपूर्ण–६ गिबाङका ५ वर्षीया बालिका जेनी पूर्जाको मृत्यु भएको छ । पहिरोमा वेपत्ता भएकी अन्नपूर्ण–८ का मनोज चोचाङ्गी बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको छ ।









