नेकपा एमाले चुनाव प्रचारप्रसार कमिटी पोखराको आयोजनामा आज (शनिवार) पोखरामा मतदातासँग उम्मेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एमाले म्याग्दीका उम्मेदवारसहित पार्टीको टोलीले मतदाता भेटघाट तथा अन्तत्र्रिmया गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले परमादेशबाट बनेको अहिलेको गठबन्धन सरकारलाई जनादेशबाट विस्थापित गरी एमालेको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सत्ताको लागि मात्र रहेको बताउँदै आसन्न मंसिर ४ गतेको निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार निर्माण गरी देश विकास गर्नुपर्ने भएकाले सबै नेता, कार्यकर्तालाई चुनावमा केन्द्रीत भएर लाग्न आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले एमालेले निर्वाचन जित्दा देश र जनताले जित्ने भएकाले यसअघि एमाले नेतृत्वको सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न एमाले र एमालेका उम्मेदवारहरुले जित्नुको विकल्प नभएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दी जिल्लामा एमाले र आफ्नो जित सुनिश्चित रहेको बताउँदै त्यसका लागि निर्वाचनमा केन्द्रीत भएर पार्टीको सबै तह र तप्काका नेता एवं कार्यकर्ताहरु खट्नुपर्नेमा जोड दिनुभयो ।

एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेश सभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्री र प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजाले एमाले नेतृत्वको सरकारले जनमुखी नीति, कार्यक्रम र बजेटमार्फत देशको परिवर्तनमा विशेष भूमिका खेलेको बताउँदै आफूहरुको उम्मेदवारी पनि जिल्लाको समग्र विकास गर्नका लागि रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजित कार्यक्रममा उम्मेदवार र मतदाता भेटघाट गर्नुका साथै विभिन्न विषयहरुमा अन्तत्र्रिmया तथा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका एमाले समर्थित, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एमाले चुनाव प्रचारप्रसार कमिटी सल्लाहकार क्याप्टेन बलबहादुर पुनको अध्यक्षता, एमाले गण्डकी प्रदेश कमिटी सदस्य किरण सापकोटाको स्वागत र अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply