म्याग्दीको मालिका गाउँपालिकाले मंगलबारदेखि शैक्षिक सत्र–२०८३ को विद्यार्थी भर्ना सुरु गर्ने निर्णय गरेको छ । सोमबार गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले भर्नासँगै पठनपाठन पनि सुरु गर्ने निर्णय गरेको हो ।
विगतका वर्षहरुमा वैशाख २ गतेबाट नयाँ भर्ना अभियानसँगै पठनपाठन हुने गरेकोमा यसबर्ष सरकारले बैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गर्ने निर्णयले विद्याथीहरुको अध्ययन अध्यापन कार्यमा अवरोध सृजना भएको भन्दै अभिभावकको समेत अनुरोधमा गाउँपालिकाले भर्ना अभियानका लागि अनुमति दिएको प्रमुख प्रशासकीय अधिकृत हरिश्वचन्द्र ढकालले बताउनुभयो ।

बैठकमा गाउँपालिकामा भर्ना अभियानसँगै पठनापठन केन्द्रिय कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक समन्वय गरिने गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । बैठकमा शिक्षा शाखा प्रमुख अशोक रिजाल,निजी विद्यालयको छाता संगठन प्याप्सनका अध्यक्ष हिरा पुन लगायतको उपस्थिती रहेको थियो । म्याग्दीका अन्य स्थानीय तहले संघीय सरकारको निर्णय अनुसार हाल सार्वजनिक रुपमा भर्ना अभियान सुरु गरेका छैनन् ।
शिक्षा मन्त्रालयले वैशाख २ देखि १५ सम्म विद्यालयको कार्ययोजना,वार्षिक कायतालिका, शैक्षिक योजना, शिक्षकको पेसागत दक्षता, सिकाइ उपलब्धीलगायतका लागि गर्नुपर्ने कार्य गर्न भनेको छ । र, यो वर्षको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि भर्ना अभियान सुरु गरी २१ गतेबाट पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।
यसपटक पेट्रोलियम पदार्थको अभाव र विद्यालयको शैक्षिक कार्ययोजना निर्माणका लागि दुई साता ढिलो गरी भर्ना अभियान सञ्चालन गरेको बताइएको छ । भर्ना अभियान अगाडी सञ्चालन भौगोलिक अवस्था अनुसार गर्न सकिने भएकाले गाउँपालिका भित्र कुनैपनि समस्या नभएकाले बैशाख ८ गतेदेखि नै सुरु गरिएको मालिका गाउँपालिकाले जनाएको छ।













