नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो प्रदेश परिषद सम्पन्न भएको छ । ट्रेड युनियन कांग्रेस म्याग्दी शाखाको आतिथ्यतामा म्याग्दी जिल्लाको बेनी बजारस्थित होटल शिखरमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको परिषदले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक परिवेशसम्मका विविध विषयमा गम्भीर छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।
परिषदमा सांगठनिक तथा आर्थिक प्रस्तावमाथि विस्तृत छलफल हुनुका साथै विधान संशोधन, राष्ट्रिय परिषदमा लैजाने एजेन्डा, ट्रेड युनियन अधिकारको अवस्था, श्रमिक हकहितको संरक्षण तथा संगठन विस्तारलगायतका विषयमा ठोस निर्णय गरिएको नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका सचिव रुद्र तिमिल्सीनाले जानकारी दिए ।
उनका अनुसार परिषदले प्रदेशस्तरमा संगठनलाई अझ मजबुत बनाउने, जिल्लास्तरसम्म सक्रियता बढाउने र श्रमिकका मुद्दालाई सशक्त रूपमा उठाउने रणनीति तय गरेको छ ।
“श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मूल नाराका साथ सम्पन्न परिषद नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने समापन कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका उपसभापति कर्ण बहादुर भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले पछिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित सफलता हासिल गर्न नसके पनि पार्टीका नीति, सिद्धान्त र एजेन्डाले जनमत जितेको दाबी गरे ।
म्याग्दी जिल्लाका उम्मेदवारसमेत रहेका उनले जनतामा देखिएको असन्तुष्टि क्षणिक र कृत्रिम भएको उल्लेख गर्दै सामाजिक सञ्जालका एल्गोरिदममार्फत “पुराना दल असफल” भन्ने भाष्य निर्माण गरिएको आरोप लगाए । उनले युनियनकर्मीलाई निराश नहुन र उच्च मनोबलका साथ संगठनात्मक अभियानमा लाग्न आग्रह गरे ।
भण्डारीले वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको संकेत देखिएको बताउँदै स्पष्ट बहुमतको सरकार भएकाले जनअपेक्षा अनुसार काम गर्नुपर्ने धारणा राखे । जुनसुकै पेशा वा क्षेत्रमा आबद्ध भए पनि इमान्दारिता, अनुशासन र उत्तरदायित्वका साथ काम गर्नु नै सफलता र विश्वासको आधार हुने उनको भनाइ थियो ।
कार्यक्रमका प्रदेश अध्यक्ष मुरारी शर्माले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) जस्तो निकायले ट्रेड युनियन अधिकारबारे चासो व्यक्त गर्दा सम्बन्धित शुभेच्छुक संस्थाहरू मौन रहनु चिन्ताजनक भएको बताए ।

उनले परिषदमा उठेका विषयहरूलाई लिपिबद्ध गरी आगामी साता बस्ने ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषदमा प्रस्तुत गर्ने र विधान संशोधनका लागि आएका सुझावहरूलाई औपचारिक छलफलमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले ट्रेड युनियनभित्र केही कमजोरी भए सुधार गर्नुपर्ने तर त्यसकै नाममा युनियन खारेज गर्ने सरकारी सोच स्वीकार्य नहुने स्पष्ट पारे ।
वर्तमानमा सञ्चालनमा रहेका सबै ट्रेड युनियनहरू कानुनी रूपमा दर्ता भई विधिवत सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सरकारका कतिपय निर्णय अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको आरोप लगाए ।
परिषदमा सल्लाहकारद्वय माधव बराल र ईश्वर चन्द्र परियारले दलीय ट्रेड युनियनका नाममा समग्र श्रमिक आन्दोलनलाई कमजोर पार्ने प्रयास भए कडा प्रतिवाद गरिने चेतावनी दिए । उनीहरूले विद्यार्थी संघ–संस्था खारेजी र ट्रेड युनियन अधिकार सीमित गर्ने कदमहरू लोकतन्त्रका लागि खतरा हुनसक्ने बताए ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयलाई प्रेसमाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयासका रूपमा व्याख्या गरे ।
उनले आर्थिक रूपमा स्वतन्त्र मिडियालाई कमजोर बनाउँदै स्वतन्त्र अभिव्यक्ति कुण्ठित गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे । यस्तो कदमले श्रमिक आन्दोलनलाई सीमित पार्ने, सामाजिक संवाद कमजोर बनाउने र लोकतन्त्र तथा मानव अधिकारमा नकारात्मक असर पार्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले ट्रेड युनियनलाई कमजोर बनाउने होइन, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले पेशागत मर्यादा कायम राख्दै श्रमिक अधिकारका पक्षमा सशक्त आवाज उठाइने बताए ।
परिषद बैठकमा उपाध्यक्षहरू लालीमाया शर्मा रेग्मी, बेदप्रसाद अधिकारी र घनश्याम रेग्मीले सरकारले ट्रेड युनियन अधिकारमाथि लगाएको अंकुश तत्काल फिर्ता लिन माग गर्दै श्रमिकमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न जिल्लाका ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्षहरूले जिल्लागत अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।
लमजुङका तिर्थराज तिवारी, स्याङजाका दुर्गा बहादुर रोका, तनहुँका कृष्ण बहादुर केसी,बाग्लुङका ईश्वर ठाकुर पौडेल, नवलपुरका गंगाधर सुवेदी, म्याग्दीका कोमल प्रसाद उपाध्याय, गोरखाका शिव थापा र पर्वतका उपाध्यक्ष लोकनाथ अधिकारीले आफ्नो जिल्लामा रहेका श्रमिक समस्या, संगठन विस्तारका चुनौती र अवसरबारे प्रकाश पारेका थिए ।
ट्रेड युनियन कांग्रेस गण्डकीका सचिव रुद्र प्रसाद तिमिल्सीनाको सञ्चालनमा सम्पन्न परिषदमा केन्द्रीय सदस्य तथा लैंगिक सेल सदस्य उमा रिजाल, केन्द्रीय प्रचारप्रसार समितिका सदस्य विजयराज भण्डारी, प्रदेश सहसचिव कुशेश्वर गुरुङ, प्रदेश सदस्यहरू शिवराज अधिकारी, गोविन्द अधिकारी, झलकराज पौडेल, पार्षद शान्ता बास्तोला, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री, ब्यूटिसियन गण्डकी प्रदेश अध्यक्ष शर्मिला रानाभाट, युवा समिति गण्डकीका अध्यक्ष महेन्द्र गुरुङ तथा कास्कीका अध्यक्ष राजेश बुढालगायतले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।
दुई दिनसम्म चलेको परिषदले श्रमिक अधिकार संरक्षण, संगठन विस्तार र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने साझा प्रतिबद्धतासहित निष्कर्ष निकाल्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।











