---Advertisement---

जलजलाको शैक्षिक सत्रको नतिजा विश्लेषण

On: April 25, 2026 10:18 PM
Follow Us:

पर्वत जिल्लाको जलजला गाउँपालिकाले वार्षिक परीक्षा २०८२ को समग्र नतिजा विश्लेषण गरेको छ। बैशाख १० गतेदेखि १२ गतेसम्म तीन दिनसम्म पालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा समग्र नतिजा, विषयगत उपलब्धि, औसत सिकाइ उपलब्धि तथा गत वर्ष र यस वर्षको नतिजाबीच तुलनात्मक समीक्षा गरिएको थियो। विश्लेषणअनुसार, गत वर्षको तुलनामा यस वर्ष समग्र सिकाइ उपलब्धिमा २ प्रतिशतले गिरावट आएको देखिएको छ, जसले शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई चिन्तित बनाएको छ।

यस वर्षको नतिजाअनुसार माध्यमिक तहमा विद्याज्योती माध्यमिक विद्यालय मल्लाज, सालिजा माध्यमिक विद्यालय र बनौ माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन्। यस्तै आधारभूत तहतर्फ मालिका, लुङ्दी र शान्ती आधारभूत विद्यालय उत्कृष्ट देखिएका छन् भने प्रारम्भिक तहतर्फ जनता, दिनकल्याण र युवा प्राथमिक विद्यालयले राम्रो नतिजा ल्याएका छन्।

कार्यक्रममा सहभागी शिक्षकहरूले आफ्नो विषयगत अवस्थाको समीक्षा गर्दै आगामी शैक्षिक सत्र २०८३ मा नतिजा सुधार गर्न नयाँ कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गरेका छन्। साथै, विद्यालयका प्रधानाध्यापक र गाउँपालिकाबीच शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कार्यसम्पादन सम्झौता समेत गरिएको छ।

कार्यक्रमकै क्रममा विभिन्न विषयगत समितिहरू गठन गरिएका छन् भने असल अभ्यास गरेका विद्यालयहरूले आफ्ना अनुभवहरू समेत साझा गरेका थिए।

तर, शैक्षिक गुणस्तर सुधारको प्रयाससँगै विद्यालयको भौतिक अवस्था भने अझै चुनौतीपूर्ण रहेको देखिएको छ। कतिपय विद्यालयमा विद्यार्थीका लागि पर्याप्त कक्षाकोठा, पिउने पानी तथा शिक्षक अभाव रहेको गुनासो उठाइएको छ। कक्षा १ देखि ५ सम्म सञ्चालन हुने विद्यालयमा दुई जना मात्र शिक्षक हुनु र एक जना बिदामा जाँदा विद्यालय सञ्चालनमै समस्या आउने अवस्था रहेको बताइएको छ।

त्यसैगरी बाँसखर्कका एक प्रधानाध्यापकले व्यक्तिगत ऋण लिएर विद्यालय भवन निर्माण गर्नुपरेको प्रसङ्गले विद्यालयको भौतिक पूर्वाधार अवस्था दयनीय रहेको संकेत गर्छ।

यद्यपि, जलजला गाउँपालिकाले शिक्षामा गरेको प्रयासलाई सकारात्मक रूपमा लिइएको छ। सरोकारवालाहरूले शिक्षकहरूको प्रतिबद्धताका आधारमा आगामी वर्षमा नतिजा सुधार हुने विश्वास व्यक्त गरेका छन्।

Leave a Comment