प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आयोजनामा सोमबार म्याग्दीको सदरमुकाम बेनीमा सञ्चार सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय पोखराद्वारा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा कार्यक्रम गरिएको हो ।
पछिल्लो समय जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुको अवस्था, आर्थिक मन्दीको असर, नयाँ सरकारले सार्वजनिक गरेका नीतिसहित विभिन्न कारणले समग्र सञ्चार क्षेत्रमा परेको प्रभाव र यसको सबलीकरणका लागि आगामी दिनमा सरकारले ल्याउनुपर्ने योजना तथा गर्नुपर्ने कामलगायत विविध विषयहरुमा मिडिया सञ्चालकहरुसँग गहन रुपमा अन्तत्र्रिmया र छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले जिल्लास्तरमा सञ्चालित सञ्चारमाध्यमहरुको वर्तमान अवस्था, चुनौती, समस्या र सम्भावनाहरुको बारेमा प्रत्यक्ष रुपमा जानकारी लिन तथा आगामी दिनका लागि योजना निर्माण गर्न प्रदेशका विभिन्न जिल्लामा पुगेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले पछिल्लो परिवर्तित सन्दर्भमा सञ्चारमाध्यमहरुको वास्तविक अवस्था के छ र पत्रकारहरुलाई के–के विषयको खाँचो परेको छ भनेर जानकारी लिएपछि मात्रै आवश्यक नीति बनाउनको लागि सहज हुने बताउनुभयो ।
प्रेस रजिष्ट्रार भण्डारीले स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यमहरुको सुदृढीकरण, दीगोपना र व्यावसायिकता विकासका लागि आवश्यक नीति तथा संस्थागत पहल गरिएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमको अवस्था जान्न र सञ्चारमाध्यमका उद्यमीहरुलाई पनि आकर्षण गर्ने खालका आवश्यक नीतिहरु ल्याएर योजना बनाउन लागिएकाले प्रदेशस्तरमै पहिलोपटक यस्तो खालको कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । अहिलेको अवस्थामा मिडिया धान्न सक्नु नै ठूलो चुनौती मिडिया सञ्चालकहरुसमक्ष रहेकाले कार्यक्रममार्फत उनीहरुको गुनासो र पीडा सुन्न तथा सुझाव एवं अपेक्षाहरु सङ्कलन गर्ने गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा सेन्टर फर मिडियाका सञ्चालक एवं मिडिया अनुगमनकर्ता डाक्टर भूमिराज चापागाईँ र शेयरकास्ट इनिसिएटिभ नेपालका सिईओ तथा मिडिया अनुसन्धानकर्ता मधु आचार्यले पछिल्लो समयमा सञ्चारमाध्यमहरु परिवर्तन भएर चल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँहरुले अब सञ्चारमाध्यमबाट दर्शक, स्रोता र पाठकहरुले चाहेजस्तो तथा उनीहरुको रुचि अनुसारका कन्टेन्टहरु उत्पादन गरेर प्रसारण गर्नसके मात्रै सञ्चारमाध्यम टिकाउन र पत्रकारहरु टिक्न सक्नेमा जोड दिनुभयो । दर्शक, पाठक र स्रोताले अपेक्षा गरे अनुसारका कन्टेन्टहरुको उत्पादनमा ध्यान दिनुपर्ने उहाँहरुको भनाइ छ ।

छलफल कार्यक्रममा सहभागी मिडिया सञ्चालक तथा पत्रकारहरुले परम्परागत ढाँचाभन्दा भिन्न तरिकाले डिजिटल प्रविधिलाई आत्मसाथ गरेर सञ्चारमाध्यम र पत्रकारले सामग्रीहरु बनाउनुपर्ने, सामाजिक सञ्जालसँगको प्रतिसर््पर्धालाई अवसरको रुपमा लिएर सत्यतथ्य एवं विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिएका छन् । सहभागीहरुले स्थानीय विषयलाई प्राथमिकता दिएर खोजमूलक सामग्री उत्पादन र प्रसारण गर्नुपर्ने, न्यू मिडियाको प्रयोग गर्नुपर्ने र आम सर्वसाधारणहरुको रुचिलाई बढावा दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, पत्रकारहरु सुदर्शनकुमार श्रेष्ठ, घनश्याम खड्का, कृष्णबहादुर जिसी, सन्तोष गौतम, साधन राम्जाली र देवी जिसीले आ–आफ्नो भनाइ राख्नुभएको थियो । प्रेस रजिष्ट्रार भण्डारीको अध्यक्षतामा सम्पन्न र्काक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम र म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष अमित विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ म्याग्दीका सचिव ठाकुरप्रसाद आचार्यले गर्नुभएको थियो ।













