---Advertisement---

मंगला माविका विद्यार्थीले बारीमा फलाउँछन्, बजारमा बेच्छन्

On: May 7, 2026 9:21 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गर्ने गरेका छन् । विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठा बाहेक खेबारीमा समेत पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै सिजन अनुसारको कृषि उत्पादन गरी बजारमा समेत बिक्रीका लागि लैजान्छन् ।


विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागी भाडामा लिएको ५ रोपनी जग्गामा गरिएको तरकारीलाई टिपेर बावियाचौर बजारमा बिक्री गर्ने गरेको प्राविधिक धारका संयोजक शिक्षक करण कँडेलले बताउनुभयो ।

यसपटक साग, जुकिनी बिक्री गरिएको छ भने टमाटर फल्ने क्रममा रहेको संयोजक कँडेलको भनाई छ । विद्यालयमा सिकेको आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ गमबहादुर खत्रीले बताउनुभयो ।

‘उत्पादित तरकारी अहिले बावियाचौर बजारमै खपत हुने गरेका छन्,’विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ,विद्यार्थीले लगाएको च्याउको बजार खोज्न समेत सघाउँछौ‘ प्रअ खत्रीले भन्नुभयो । टनेलभित्र टमाटर सहित अन्य तरकारीजन्य उत्पादनको विधि र प्रक्रियाका बारेमा शिक्षकले सिकाउने गरेको प्रअ खत्रीको भनाई छ ।

छोटो समयमा उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने र प्रयोगात्मक अभ्यासका रुपमा जग्गा भाडामा लिएर सञ्चालन गरिएको विब्यस अध्यक्ष प्रमानन्द विश्वकर्माको भनाई छ।

विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको कक्षा ११ मा अध्ययनरत सुप्रिया आचार्यले बताउनुभयो । नेपाल सरकारको नमूना विद्यालय मंगला माविले भाडामा लिएको जग्गामा विगतमा च्याउ खेती समेत गरेको थियो । अब विद्यार्थीलाई च्याय खेतीसहित बजारको माग अनुसारका उत्पादनमा समेत प्रोत्साहन गर्ने विद्यालयले जनाएको छ ।

मौसमी तथा बैमौसमी तरकारी, टमाटर, प्याजको बिउ लगायतका उपज फलाउन बारेमा शिक्षकले बारीमै लगेर सिकाउँदा विद्यार्थी उत्साहित छन् । विद्यालयमा बि.स २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । हाल ५२ जना विद्यार्थी अध्ययनरत छन् । गाउँमै बाली विज्ञान पढ्न पाएकोमा विद्यार्थी खुसी छन् ।

Leave a Comment