हरिकृष्ण गौतम
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाने भक्तजन र पर्यटकलाई लक्षित गरी मंगला गाउँपालिका-२ हिदीबाट सडक सञ्जाल जोडिएको छ । धार्मिक तथा पदयात्रीलाई लक्षित गरी गाउँपालिकाले बिनियोजन गरेको ३० लाख र स्वदेश तथा विदेशमा रहेका हिँदीबासीको आर्थिक सहयोगबाट १७ लाख संकलन गरी जोगी देउरालीसम्म सडक पुगेको छ ।

हिदी–मालिका सडक योजना अन्तरगत गाउँपालिकाले विनियोजन गरेको बजेटबाट अपुग भएपछि स्थानीयको सक्रियताा संकलित आर्थिकबाट सडकले पूर्णता पाएको उपभोक्ता समितिका सदस्य तुलप्रसाद पुनले बताउनुभयो ।

‘हिँदीबासीले मन खोलेर सहयोग गर्नुभएको छ, अब मालिकाधुरी पुग्न सजिलो भएको छ’ समितिका सदस्य पुनले बेनीअनलाइनलाई भन्नुभयो । गाउँपालिकाको बजेटबाट हिदीदेखि सुर्ती चढाउने डाँडासम्म साढे दुई किलोमिटर सडकको ट्याक खुलेको थियो । विदेशमा रहेको स्थानीयबाहेक गाउँबाट न्युनतम १ हजारदेखि माथि चन्दा उठाएर सडक विस्तार गरिएपछि यसबर्ष चण्डी पूर्णिमाको दिन सडकमै मालिकाधुरीको देउरालीसम्म सवारीसाधनमा भक्तजनलाई पुग्न सहज भएको थियो ।

जंगलमै बास बसेर सडकलाई पूर्णता दिइएको छ । हिँदी गाउँमाथिको जंगलभित्र विस्तार गरिएको सडकलाई जोखिमस्थानमा ढलान सहित थप योजना समेत बनाइएकाले आगामी दिनमा थप सहज हुने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

‘धार्मिकस्थलसम्म पुग्ने सडक र पदमार्ग दुबैलाई थप सहज बनाएर आर्कषित गर्नेछौ, सडकलाई बाह्ै महिनासञ्चालन हुने बनाउन स्थानीयले मेहनत गरिरहनुभएको छ’ अध्यक्ष रोकाले भन्नुभयो । अब हिँदीबाट एक घण्टामै मालिकाधुरीको जोगी देउरालीसम्म पुगिन्छ । सदरमुकाम बेनीदेखि हिदी हुँदै साढे चार घण्टामा मालिका पुग्न सकिन्छ ।

यातायातको सुविधासँगै यात्रा छोटिएपछि धार्मिक पर्यटकलाई नयाँ रुटबाट आर्कषित गर्न स्थानीयले घुम्ती सुधार, सडक ढलानसहित आगामी बर्षको वडा तथा गाउँपालिकाबाट समेत बजेट माग गरेका छन् । छिमेकी मालिका गाउँपालिका–७ बिम, रघुगंगा गाउँपालिका–६, ठाडाखानीबाट समेत देउरालीसम्म सडक पुगिसकेको छ ।
सिमानामा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी धार्मिक तथा पर्यटकीयस्थल हो । मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।
त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । मालिकाधुरीमा सिजनमा पदयात्रामा रमाउने पर्यटकलाई आर्कषित गर्ने गरी मंगला गाउँपालिकाले हिँदी र टोड्के क्षेत्रबाट पदमार्गको सुविधालाई समेत ब्यवस्थित बनाउने प्रयास गरेको छ ।









