जलजला गाउँपालिका पर्वत र सेभ द हार्ट काठमाडौँको प्राविधिक सहयोगमा जलजला–४ स्थित लुङदी आधारभुत विद्यालय मोहनचोकमा सञ्चालित निःशुल्क मुटुरोग परीक्षणसम्बन्धी शिविरमा सर्वसाधारणको भीड लागेको छ । शनिबार एकदिने शिविरमा मुटु, मृगौला, मधुमेह, थाइराइट, दम तथा छाती, हार्डजोर्नी तथा नशा लगायत विभिन्न रोगको उपचारका लागि पर्वत र म्याग्दीबाट बिरामी शिविरमा पुगेका छन् ।

सेभ द हार्ट काठमाडौँ, मनमोहन कार्डियोथेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराई नेतृत्वमा काठमाडौबाट आएको ४० जना चिकित्कससहित स्वास्थ्यकर्मीहरुले सेवा दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

शिविरमा स्वास्थ्य परीक्षण र परामर्शका साथै निःशुल्क औषधि वितरण सम्बन्धी सेवा पनि दिइएको थियो। शिविरमा डा.भट्टराईले जटिल समस्या पहिचान भएका बालबालिकासहितका बिरामीलाई थप उपचारका लागि काठमाण्डौ लगिने बताउनुभयो । गाउँपालिकाले उपचारका लागि निशुल्क ब्यवस्थापन गर्नेछ ।

शिविरमा बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. दिब्यसिंङ शाह सहितको टोलीको उपचारबाट रोग पहिचान भएकालाई समयमै उपचारमा सहज भएको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको भनाई छ ।

शिविरमा परीक्षणका क्रममा मुटुको केही न केही समस्या देखिएकाले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्ने अवस्था रहेको डा. भट्टराईले बताउनुभयो । शिविरमा निःशुल्क रूपमा मुटुको परीक्षण, इको कार्डियोग्राफी, ईसीजी र औषधि वितरण गरिनुका साथै परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । सेभ द हार्टको आयोजनामा म्याग्दी सहित देशभर विभिन्न जिल्लामा निःशुल्क मुटुरोगको शिविर आयोजना गरिसकेको छ।












