---Advertisement---

ज्ञानोदय माविमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन

On: May 23, 2026 9:08 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन भएको छ । एकिकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययत गर्ने छात्राहरुको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्रीले किशोरीहरुको भौतिक सुरक्षासंगै विद्युतीय माध्ययमबाट हुने हिंसाबाट बच्नका लागि तालिमले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले किशोरीहरुलाई सचेत र सुरक्षित बनाउन आबश्यक रहेको बताउँदै तालिमले आत्मविश्वास बढाउन समेत सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सागर तिमिल्सिनाले किशोरीहरुलाई आफु, परिवार र समाजलाई सुरक्षित राख्नका लागि तालिमले उत्प्रेरित गर्ने बताउनुभयो ।

उहाँले समाजमा महिला तथा किशोरीमाथि हुने हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएकाले आत्मरक्षा तालिम आवश्यक रहेको बताउँदै किशोरीहरुको आत्मबल बढाउने, नेतृत्व क्षमता विकास गर्ने र समाजमा सचेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । एकिकृत सेवा कार्यालयका प्रमुख सम्सेर घर्ति क्षेत्रीले किशोरीहरुलाई सक्षम र सुरक्षित बनाउन कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

तालिममा प्रशिक्षकहरुद्धारा किशोर उमेर अवस्थाका जोखिम, ध्यान दिनुपर्ने सबाल, बालविवाह र त्यसले समाजमा पार्ने प्रभाब तथा असर लगायतको बारेमा प्रशिक्षण दिईएको थियो । त्यसैगरी दैनिक जीवनमा आइपर्न सक्ने जोखिमपूर्ण अवस्थाबाट कसरी सुरक्षित रहने, मानसिक रुपमा बलियो बन्ने तथा आवश्यक अवस्थामा आफूलाई कसरी जोगाउने भन्ने विषयमा समेत प्रशिक्षण दिइएको छ । सहभागी किशोरीहरुलाई शारीरिक अभ्याससहित विभिन्न आत्मरक्षा प्रविधिबारे व्यवहारिक अभ्यास गराइएको थियो ।

दुइ दिनसम्म सञ्चालन हुने तालिममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तिमिल्सिना, प्रहरी सहायक हवल्दार आकाश भित्रिकोटी, प्रहरी जवानहरु हेमा बडाल, गुन्जबहादुर नेपाली, भुमिसरा राम्जालीले प्रशिक्षण दिनुभएको छ । कार्यालय प्रमुख घर्ति क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्राविधिक सहायक उपेन्द्रबहादुर बस्नेतले गर्नुभएको थियो ।

Leave a Comment