प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विश्वमा शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
विश्वका विभिन्न भूभागमा भइरहेका द्वन्द्वमा सर्वसाधारण नागरिकले नै सबैभन्दा बढी पीडा भोग्नुपरेको भन्दै उनले शान्ति स्थापनाका लागि कूटनीतिक पहलमा जोड दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) का राजदूत तथा काठमाडौंस्थित अन्य मुलुकका राजदूतहरूसँगको संयुक्त भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्।
कूटनीतिक भेटवार्तामा स्वदेशी एजेन्डाबारे बोल्दै प्रधानमन्त्री शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक र देखिने गरी उकास्न आफू नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार हालैको निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र आफूहरूलाई सुम्पिएको यो गहन जिम्मेवारीको पूर्ण बोध रहेको प्रधानमन्त्रीले बताएका थिए।
नयाँ सरकार बने पनि नीतिगत निरन्तरता र स्थिरता कायम रहने उनले प्रस्ट पारे। प्रधानमन्त्री शाहले भने, ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।’
जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको उनले बताए। बृहत् लगानी आकर्षित गर्न सरकारी प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र दिगो विकास हासिल गर्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए।
नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने प्रधानमन्त्री शाहले स्पष्ट पारे। उनले भने, ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता, र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ।’
व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको भन्दै उनले निरन्तर सहयोगका लागि विकास साझेदारहरूप्रति आभार प्रकट गरे।
भेटका क्रममा इयू तथा अन्य मुलुकका राजदूतहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै नेपालको उच्च प्रशंसा गरेका थिए।
सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्व सम्हालेकोमा उनीहरूले प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गरे।
साथै, नेपालको आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्न तथा लगानी बढाउन आफूहरू पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।











