म्याग्दीको धवलागिरि गाउँपालिका–२,स्थित पर्यटकीय गन्तव्य जलजलाको दिगो पर्यटन विकास, पर्यावरण संरक्षण तथा पूर्वाधार विस्तारलाई केन्द्रमा राख्दै ‘जलजला घोषणापत्र’ जारी गरिएको छ । धवलागिरि गाउँपालिकाले आयोजना गरेको दुईदिने पर्यटन प्रवद्र्धन अन्तरक्रिया कार्यक्रमबाट ‘चिनौँ जलजला, घुमौँ जलजला’ अभियानसहित सातबुँदे घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा जलजलालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सडक स्तरोन्नति, पर्यटन सर्किट निर्माण, जैविक विविधता संरक्षण, डिजिटल ब्रान्डिङ तथा बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । पर्यावरणमैत्री पर्यटन (इको–टुरिजम) मार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्दै जलजलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित घोषणापत्र जारी गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
घोषणापत्रमा ढोरपाटन शिकार आरक्षसँग जोडिएको जलजलाको एकीकृत विकास तथा प्रवद्र्धनका लागि सरोकारवालाको सहयोग र समर्थन जुटाउने विषयलाई प्राथमिकता दिइएको छ । प्रदेशसभा सदस्य, म्याग्दी तथा छिमेकी जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख, विषयगत कार्यालयका प्रमुख, जनप्रतिनिधि, पत्रकार, पर्यटन व्यवसायी तथा स्थानीय सरोकारवालाको सहभागितामा सम्पन्न अन्तरक्रिया तथा स्थलगत अवलोकन कार्यक्रमपछि उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा जलजला क्षेत्रको दिगो विकासका लागि पूर्वाधार विस्तार, ढोरपाटन शिकार आरक्षसँग पर्यटन आबद्धता, जैविक विविधता संरक्षण, एकीकृत पर्यटन सर्किट निर्माण, स्थानीय अर्थतन्त्र प्रवद्र्धन, डिजिटल ब्रान्डिङ तथा बजेट व्यवस्थापनलगायत विषय समेटिएका छन् । घोषणापत्रअनुसार बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन–तक्सेरा सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने गरी स्तरोन्नति गर्न पहल गरिनेछ । साथै, पर्यटक सूचना केन्द्र स्थापना तथा पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने उल्लेख गरिएको छ ।
जलजलालाई ढोरपाटन शिकार आरक्षको प्रवेशद्वारका रूपमा विकास गर्दै शिकार आरक्ष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गरी संयुक्त पर्यटन प्याकेज सञ्चालन गर्ने तथा ‘जलजला–ढोरपाटन सर्किट ट्रेक’ विकास गरी पर्यटकको बसाइ अवधि लम्ब्याउने नीति लिइने जनाइएको छ ।घोषणापत्रमा लालीगुराँस, चिमालको वन, जडीबुटी तथा रेडपाण्डा र डाँफेजस्ता दुर्लभ वन्यजन्तुको संरक्षणलाई प्राथमिकता दिइएको छ । साथै, जलजला क्षेत्रलाई ‘शून्य प्लास्टिक तथा वातावरणमैत्री क्षेत्र’ घोषणा गर्न पहल गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी म्याग्दी, बागलुङ र रुकुमपूर्वका स्थानीय तहबीच समन्वय गरी ‘धौलागिरि आधारशिविर–गुर्जा–जलजला–ढोरपाटन–तक्सेरा’ समेटिएको बृहत् पश्चिम नेपाल पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । स्थानीय कला, संस्कृति, सामुदायिक होमस्टे, कृषि उत्पादन, भेडापालन, हस्तकला तथा अर्गानिक उत्पादनलाई पर्यटनसँग जोडेर प्रवद्र्धन गरिने जनाइएको छ ।
साथै, मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गरी ‘चिनौँ जलजला, घुमौँ जलजला’ डिजिटल अभियान सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । जलजला क्षेत्रको एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी सङ्घीय तथा प्रदेश सरकारबाट विशेष बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ । समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको जलजलाबाट गुर्जा, धवलागिरि, चुरेन, पुथा र अन्नपूर्ण हिमश्रृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ ।











