---Advertisement---

जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम

On: June 4, 2026 5:32 PM
Follow Us:

म्याग्दीमा २० औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस रक्तदान कार्यक्रम गरी मनाइएको छ। जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आयोजनामा बेनीको वीरेन्द्रचोकमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।   

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बेनीले प्राविधिक सहयोग गरेको थियो भने बेनी नगरपालिका ७ को कार्यालयले आर्थिक सहयोग गरेको थियो। समितिका संयोजक पदम किसानले जातीय विभेद र छुवाछूतविरुद्ध सामाजिक चेतना अभिवृद्धि गर्न रक्तदान कार्यक्रम आयोजना  गरिएको बताए। 

‘मानवताको सबैभन्दा ठूलो उदाहरण रक्तदान हो । जसले जात, धर्म, वर्ग वा समुदाय छुट्याउँदैन। यो जीवनदानको आधार पनि हो’, संयोजक किसानले भने।   रगत सबैको सबैलाई चल्छ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको बताए।  

दलित अधिकारकर्मी लालु किसानले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई सामाजिक व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए। रक्तदान कार्यक्रमले सामाजिक सद्भाव र मानव एकताको सन्देश प्रवाह गरेको उनको भनाई छ।  

विसं २०६३ जेठ २१ गते तत्कालीन संसद्ले नेपाललाई  ‘जातीय छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो। सोही ऐतिहासिक घोषणाको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो।  

संविधानले सबै नागरिकलाई समान अधिकारको व्यवस्था गरेको तथा जातीय भेद्भाव र छुवाछूतलाई कानुनले निषेध गरे पनि समाजका विभिन्न क्षेत्रमा अझै विभेदका घटना हुने गरेका छन्। यस्ता कुरीति अन्त्य गर्दै समानता, सामाजिक न्याय र मानवअधिकारको सुनिश्चितता गर्ने उद्देश्यले यो दिवस देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै आइएको छ।  

Leave a Comment