---Advertisement---

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’

On: June 4, 2026 5:55 PM
Follow Us:

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित मोना म्याग्दी डेभलपमेन्ट कम्पनीले बिहिबारदेखि ‘मोना माटर्’बाट बिक्री वितरण सुरु गरेको हो ।

म्याग्दीमा उत्पादन हुने अर्गानिक बस्तुलाई मोनाको ब्रान्डमा विश्वबजारमा लैजाने गरी म्याग्दीमा प्रशोधन केन्द्र बनाएर पोखरा लगायतका देशका विभिन्न स्थानमा मार्टमार्फत स्वदेशी ग्राहक र प्रवासमा रहेकालाई बिक्री गरिने कम्पनीका सञ्चालक शिवकुमार बरुवालले बताए ।

‘पोखराका अर्गानिक उत्पादन बिक्री सुरु गरेका छौ, यहाँ म्याग्दीमा उत्पादन हुने सबै अर्गानिक बस्तु पाइन्छ’ सञ्चालक बरुवालले भने। हाल कम्पनीबाट जापान, कतारसहित विभिन्न देशमा रहेका म्याग्देलीको पसलबाट सामान बिक्री भइरहेको छ ।

किसानले उत्पादन गरेका अर्गानिक सामानलाई उचित मुल्य दिएर खरिद गर्ने, माटो सुहाउँदो उत्पादनका लागि विउँपुँजी दिने, विभिन्न तालिम तथा प्रोत्साहनका कार्यहरु समेत कम्पनीले गर्ने अर्का सञ्चालक राम खड्काले बताए । उनले गृह जिल्ला म्याग्दीमा संकलन तथा बिक्री केन्द्र सञ्चालन सँगै आफ्नो उत्पादन मोनालाई बिक्री गर्ने किसानको आवश्यकता तथा प्रोत्साहनका लागि सर्तसहित लगानीको लागि समेत कम्पनीले काम अगाडी बढाएको बताए ।

कम्पनीले कृषकलाई आर्थिक रुपमा बलियो बनाउने, अर्गानिक बस्तुको उत्पादनका लागि चासो बढ्ने, उत्पादनलाई उचित मुल्य लिने समेत जनाएको छ। मोना मार्टबाट हाल म्याग्दीमा संकलित सिस्नुको धुलो, ढकायो, भटमास,टिम्मुरभटमास,भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल,लगायत विभिन्न उत्पादनहरू छन् । कम्पनीले सबैभन्दा धेरै जापानमा पठाउने गरेको छ ।

कम्पनीमार्फत अर्गानिक, पर्यटन, जलविद्युत लगायत विभिन्न परियोजनाहरुमा लगानी गर्ने योजना बनाएकाले प्रवासी म्याग्देलीलाई सेयर सदस्य बनाउने, स्वदेशमा समेत इच्छुकलाई जोड्ने योजना बनाएको छ ।

हाल कम्पनीमा मोना अन्तराष्ट्रि«यका संस्थापक अध्यक्ष तेजप्रकाश पुन, निर्वतमान अध्यक्ष ददीवल खड्का, शिवकुमार बरुवाल, बिक्रम कार्की, राम खड्का संस्थापक सञ्चालक छन् । म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुमार्फत कृषकसम्म पुगेर उत्पादन हुने साम्रागी खरिद गर्ने, लगानीको अभावमा बाँझो रहेको जमिनका बारेमा समन्वय गरी भाडामा लिएर खेती गर्ने, खेती गर्न चाहनेलाई सहयोग गर्ने तथा विभिन्न योजना सहित कम्पनी स्थापना गरिएको जनाइएको छ ।

Leave a Comment