---Advertisement---

गण्डकीको नीति तथा कार्यक्रममा नाराभन्दा काममा जोड दिन सांसद हरि भण्डारीको आग्रह

On: June 4, 2026 5:50 PM
Follow Us:

 गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जिम्मेवार पदमा बसेका व्यक्तिहरूको कुराले जनतामा अन्योल पैदा गरेको बताए । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीका नाममा आएका विभिन्न कुराहरूले जनप्रतिनिधिहरू समेत भ्रममा परेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए ।

छलफलका क्रममा भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेटिएका केही सकारात्मक पक्षहरूको स्वागत गरे । उनले आन्तरिक आय वृद्धि, राजस्व प्रणालीको डिजिटाइजेसन, पर्यटन, कृषि र हरित अर्थतन्त्रलाई प्राथमिकता दिनु राम्रो सुरुआत भएको बताए । ‘रिटर्न टु भिलेज’ अभियान, युवा उद्यमशीलता र स्थानीय उत्पादनको ब्रान्डिङ जस्ता कार्यक्रमले प्रदेशको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । उनले विगत ८ वर्षमा प्रदेशले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै परिणाममुखी विकासमा लाग्नुपर्नेमा जोड दिए ।

भण्डारीले प्रदेश सरकारले नयाँ योजनाभन्दा पनि पुराना र अधुरा सडक तथा पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले औद्योगिक क्षेत्रका रूपमा अघि सारिएका लोकाहा खोला र पुँजीटारका पूर्वाधार निर्माणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गरे । ‘हामीले नयाँ पूर्वाधारका कुरा गर्दा हाम्रै क्षेत्रमा रहेका गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानाको अनुभवबाट पनि सिक्नुपर्छ,’ उनले भने । नीति तथा कार्यक्रममा प्रयोग भएका डिजिटल शब्दावली र आकर्षक घोषणाको भिडमा कतै प्राथमिकताहरू त हराएका छैनन् भन्ने प्रश्न पनि उनले उठाए ।

सञ्चार माध्यम र सामाजिक सञ्जालले जनतामा भ्रम छरिरहेको भन्दै उनले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताए । उनले भने, ‘आज चारैतिर निराशा छ, प्रदेशमाथि प्रश्नहरू उठेका छन्, हामीले सुशासन र समयमै डेलिभरी दिन कहाँ–कहाँ चुक्यो भनेर समीक्षा गर्नुपर्छ ।’ उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरे पनि यहाँ कति पर्यटक भित्रिए भन्ने ठोस तथ्यांक सरकारसँग नभएकोमा गुनासो गरे । छिमेकी देश चीन र भारतबाट कुल जनसंख्याको मात्रै ०.१ प्रतिशत पर्यटक भित्र्याउन सके पनि प्रदेश समृद्ध हुने उनको तर्क थियो ।

कृषि क्षेत्रमा किसानहरूले भोग्नुपरेको समस्याका बारेमा बोल्दै भण्डारीले प्राकृतिक विपत्तिका बेला सरकारले दिने राहत प्रभावकारी नभएको बताए । ‘नारामा त कृषि र किसानका कुराहरू राम्रा सुनिन्छन् तर असिनाले बाली नष्ट हुँदा किसानले कहिल्यै क्षतिपूर्ति र राहत पाएनन्,’ उनले टिप्पणी गरे । उनले नीति र कार्यक्रम कागजमा मात्रै राम्रो देखिने तर कार्यान्वयन नहुने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

भण्डारीले युवाहरू विदेश पलायन हुने क्रम बढ्नुमा रोजगारी र अवसरको अभाव प्रमुख कारण रहेको उल्लेख गरे । उनले पर्यटन पूर्वाधारमा सेल्फी ब्रिज र भ्यु फेवा भन्दा पनि युवालाई प्रत्यक्ष रोजगारी दिने र आयआर्जन बढाउने संरचनामा जोड दिन सरकारलाई आग्रह गरे । उनले आगामी बजेटमा पहुँचका आधारमा नभई जनताका आधारभूत आवश्यकताका आधारमा बजेट विनियोजन हुने विश्वास व्यक्त गरे 

Leave a Comment