म्याग्दीको मङ्गला गाउँपालिका–२, ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भिड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उहाँको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दुध किनेर लैजान्छन् ।
आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित ५१ वर्षीय पौडेलले दुई दशकअघि भने वैदेशिक रोजगारीको सपना पछ्याउँदा ठुलो आर्थिक क्षति बेहोर्नुपरेको थियो । विसं २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर दिएको तीन लाख डुब्यो, उहाँको विदेश जाने सपना पनि अधुरै रह्यो ।
“पैसा फस्यो, विदेश जाने सपना पनि टुट्यो,” उहाँ सम्झिनुहुन्छ, “त्यसपछि वैदेशिक रोजगारीको सोच त्यागेर भैँसीपालन र तरकारी खेती सुरु गरेँ ।”
ऋणको भारी र परिवारको जिम्मेवारीका बिच दुई वटा भैँसीबाट सुरु गरेको व्यवसाय हाल व्यवस्थित फार्मको रूप विकास भएको छ । हाल पौडेलको गोठमा आठ वटा भैँसी छन् । परिवारका दुई सदस्यसँगै एक जनालाई नियमित रोजगारी दिनुभएको छ ।
विसं २०७३ मा ‘पौडेल भैँसीपालन फर्म’ स्थापना गरेर सुरु गरिएको व्यवसाय हाल जिल्लाकै सफल उद्यमका रूपमा चिनिन थालेको छ । पौडेलले दुई रोपनी क्षेत्रफलमा तरकारी खेती पनि गरिरहनुभएको छ । भैँसीपालन र तरकारी खेती एक अर्काका पूरक जस्तै भएकाले यसतर्फ लागेको उहाँको भनाइ छ ।
“गोठबाट निस्कने मल बारीमा प्रयोग हुन्छ भने तरकारीबाट अतिरिक्त आम्दानी भइरहेको छ । तरकारीसँगै खेरजाने पातपङ्गिर भैँसीको आहारमा पनि प्रयो हुन्छ । यसले दुवै व्यवसाय सँगसँगै अगाडि बढाउन सहज भएको छ”, पौडेलले रासससँग भन्नुभयो ।
हाल उहाँको फार्मबाट दैनिक ५० देखि ६० लिटर दुध उत्पादन हुन्छ । त्यसमध्ये करिब ४० लिटर दुधबाट दही बनाइन्छ भने बाँकी दुध नियमित ग्राहकलाई बिक्री गरिन्छ ।
“दिउँसो १२–१ बजेसम्म दही सकिन्छ । माग धेरै छ, धान्न गाह्रो भइरहेको छ । काठको ठेकीमा जमाइएको दहीको शुद्धता र परम्परागत स्वादले उपभोक्ताको मन जितेको छ”, पौडेल भन्नुहुन्छ,“एकपटक स्वाद लिएका ग्राहक फेरि फर्केर आउने गरेका छन् । बजारीकरणका लागि प्रचारप्रसार पनि गर्नुपरेको छैन ।”
उहाँ ग्राहकको मन जितेमा सफलताका लागि अर्को कुनै उपाय गर्नुनपर्ने बताउनुहुन्छ । “ठुलो विज्ञापन केही गरिएको छैन”, पौडेलले भन्नुभयो, “ग्राहकको सन्तुष्टि र सकारात्मक प्रतिक्रियाले नै व्यवसाय विस्तार भएको हो ।”
बेनी–दरबाङ–मुना–ढोरपाटन सडकमा यात्रा गर्ने यात्रुहरू उहाँका मुख्य ग्राहक हुन् । पहिले दुध बिक्रीका लागि घर–घर पुग्नुपर्ने अवस्था रहे पनि अहिले ग्राहक आफैँ फार्मसम्म पुग्ने गरेका छन् ।
दुध, दही र तरकारी बिक्रीबाट मासिक ५० हजारभन्दा बढी बचत हुने गरेको पौडेल बताउनुहुन्छ । यही आम्दानीबाट वैदेशिक रोजगारीका लागि लिएको ऋण तिर्नुका साथै चार सन्तानलाई स्नातक तहसम्म अध्ययन गराएको उहाँले जानकारी दिनुभयो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गाउँपालिकाको प्राविधिक सहयोगले व्यवसाय विस्तार गर्न सहज भएको उहाँको भनाइ छ । पशुमा रोग लाग्ने जोखिम र बाँदरले तरकारीखेतीमा पुर्याउने क्षति भने अझै चुनौतीका रूपमा रहेका छन् ।
विदेश जाने सपना अधुरै रहे पनि पौडेलले त्यसलाई निराशाको कारण बन्न दिनुभएन । बरू त्यही असफलतालाई अवसरमा रूपान्तरण गर्दै स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सफल हुनुभयो ।
“सपना विदेशमै खोज्नुपर्छ भन्ने छैन,” उहाँ भन्नुहुन्छ, “मिहिनेत र धैर्य भए आफ्नै गाउँको गोठबाट पनि सफलता हासिल गर्न सकिन्छ ।”
एकाउन्न वर्षीय पौडेलको कथा सङ्घर्ष, धैर्य र स्वदेशमै सम्भावना खोज्ने प्रेरणादायी उदाहरण बनेको छ । मङ्गला गाउँपालिका–५, गहतेका खिमलाल आचार्य पौडेलको सफलताले अन्यलाई पनि स्वदेशमै काम गर्न प्रेरणा मिलिरहेको बताउनुहुन्छ ।
स्थानीय फडिन्द्र शर्मा पनि पनि धैर्यता र लगन भएमा एउटा बाटो रोकिए पनि अन्य थुप्रै अवसर खुल्छ भन्ने उदाहरणका रूपमा पौडेललाई दिने गरिएको बताउनुहुन्छ । रासस














