बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ।
गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरूलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए।
आगामी असार १ बाट ७ गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई उक्त खोप निःशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
उनका अनुसार दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग भएकाले यसको सङ्क्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको हो।
ज्वरो, रुघाखोकी वा शरीरमा रातो बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न, नियमित हात धुन, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्न तथा सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।
















