बागलुङमा असिना र वर्षासँगै आएको पानीले जिल्लाका विभिन्न स्थानमा लगाइएका कृषि बालीमा ठुलो क्षति पुर्याएको छ । असिनापानीका कारण मकै, सुन्तला, किवी, अकबरे खुर्सानीलगायत बालीमा क्षति पुगेको कृषि विकास कार्यालय बागलुङका प्रमुख कुमार पुनले जानकारी दिनुभयो ।
हालसम्म यकिन तथ्याङ्क नआए पनि जिल्लाका सबै पालिकामा क्षति पुगेको उहाँले बताउनुभयो । “जिल्लाका करिब सबै पालिकामा क्षति पुगेको छ,” पुनले भन्नुभयो, “तुलनात्मक रूपमा निसीखोला र ताराखोला गाउँपालिकामा कम छ भने अन्य पालिकामा बढी क्षति भएको छ ।”
प्रारम्भिक विवरणअनुसार जैमिनी, बरेङ र बडिगाडमा ठुलो क्षति पुगेको छ । ती क्षेत्रमा मकै, सुन्तला र टनेल खेतीमा क्षति भएको छ । जैमिनी नगरपालिका–२ र ३ मा लगाइएको आलुमा पनि क्षति पुगेको छ ।
पुनका अनुसार जैमिनीको दमेक र सर्कुवामा रहेका सुन्तला बगैँचामा करिब २० प्रतिशत क्षति पुगेको छ । त्यस्तै, काठेखोला गाउँपालिका–७ र ८ मा मकैबालीमा क्षति पुगेको छ ।
बागलुङ नगरपालिकाको सिगाना र भकुण्डे क्षेत्रमा लगाइएको मकैबाली र सुन्तलामा क्षति पुगेको छ । त्यस्तै वडा नं. ११ रायडाँडामा लगाइएको अकबरे खुर्सानी र मकैमा क्षति पुगेको छ । बागलुङ नगरपालिका–१० मा पानीको भल खेत र बारीमा पस्दा धान तथा कोदोको ब्याडमा क्षति पुगेको छ ।
बरेङ गाउँपालिकामा करिब १५ हेक्टर क्षेत्रफलमा लगाइएको मकैबालीमा क्षति पुगेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटी तथा वडा नं. ११ रिघामा मकैबारी र टनेल खेतीमा क्षति पुगेको छ ।
बडिगाड गाउँपालिका–१, ५, ६ र ७ का कृषि बालीमा क्षति पुगेको छ । त्यहाँ १२ वटाभन्दा बढी टनेलमा समेत क्षति पुगेको छ । तमानखोला गाउँपालिका–१ र ४ मा किवी र सुन्तला खेतीमा क्षति पुगेको छ । बाँसका दुई वटा टनेलमा समेत क्षति पुगेको कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।
ढोरपाटन नगरपालिका–५, ६ र ७ मा मकैबाली र टनेलमा क्षति पुगेको छ । त्यहाँ १० वटा पक्की र पाँच वटा बाँसका टनेलमा क्षति पुगेको छ । कार्यालय प्रमुख पुनले कार्यालयमार्फत राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।
उहाँका अनुसार क्षति भएको फोटोसहित सर्जमिन मुचुल्का, स्थानीय तहको सिफारिसलगायत कागजात पेस गरेपछि लागतको २५ प्रतिशतसम्म सहयोग उपलब्ध गराइनेछ ।
उहाँले असिनाका कारण सुन्तला उत्पादनमा ठुलो असर नपर्ने तर मकै उत्पादनमा भने कमी आउन सक्ने बताउनुभयो । “असिनाका कारण सुन्तला उत्पादनमा धेरै कमी नआउला, तर मकै उत्पादनमा असर पर्ने देखिन्छ,” उहाँले भन्नुभयो । गोरखापत्र अनलाइन














