रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।
मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले रु ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष फमान छन्त्यालका अनुसार रु ४४ लाख ३० हजारको लागतमा निर्माण भएको खेलमैदान बनाउन दाताहरुले रु २६ लाख ९० हजार, रघुगङ्गा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले रु पाँच लाख र ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक संयुक्त ऊर्जा कम्पनीले रु दुई लाख ५० हजार प्रदान गरेका हुन् ।
स्व डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उहाँका परिवारले रु दुई लाख सहयोग गर्नुभएको छ । अन्य सहयोग प्रवास र पूर्वखेलाडी तथा स्थानीयवासीबाट जुटाएको अध्यक्ष छन्त्यालले बताउनुभयो । सोह्र मिटर चौडा र ३० मिटर लामो खेलमैदानमा प्यारापिटलगायत दर्शकका निम्ति आवश्यक संरचना पनि निर्माण भएका छन् । रासस












