---Advertisement---

म्याग्दी पुस्तकालयमा किशोरी लक्षित ‘टेक एज गल्र्स’ कार्यक्रम सुरू

On: June 12, 2026 7:25 PM
Follow Us:

म्याग्दी पुस्तकालयमा किशोरीहरूको प्रविधिमैत्री क्षमता तथा नेतृत्व अभिवृद्धि गर्ने उद्देश्यले ‘टेक एज गल्र्स’ कार्यक्रम सुरु भएको छ । रिड नेपाल र पुस्तकालयको आर्थिक साझेदारीमा १५ महिने कार्यक्रमको शुक्रबार बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७, को सभाहलमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले डिजिटल प्रविधिमा पहुँच, गुणस्तरीय शिक्षाको विस्तार, समुदायमा ज्ञान, सीप र सूचना आदान–प्रदानसँगै विद्यालय र समुदाय बिचको सहकार्यका लागि किशोरीलाई सक्षम बनाउनुपर्ने बताउनुभयो ।


‘किशोरीलेआत्मविश्वास बढाउनका लागि आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ, आफूमा भएका सकारात्मक एवं सवल पक्षलाई चिन्न सक्नुपर्छ’ मेयर केसीले भन्नुभयो । उपमेयर ज्योति लामिछानेले म्याग्दी जिल्लमा पहिलोपटक सञ्चालित परियोजनाले किशोरीको क्षमता विकासमा सघाउने विश्वास ब्यक्त गर्नुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले पुस्तकालयको प्रयोगका लागि विभिन्न कार्यक्रमहरुमार्फत समुदायलाई जोड्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा रिड नेपालकी ‘टेक एज गल्र्स’ परियोजनाकी कोअर्डिनेटर भाग्यश्री विष्टले परिषेजनामार्फत डिजिटल साक्षरता, नेतृत्व क्षमता र सीप विकासमार्फत प्रविधि क्षेत्रमा सक्षम र आदर्श व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, गैरसरकारी संस्थाका अध्यक्ष दिपक पौडेल,बालमन्दिर मावि कालिपुलका प्रअ देवीप्रसाद शर्मा,म्याग्दी सामुदायिक पुस्तकालयका कार्यसमिति सदस्य हरिप्रसाद पौडेलले किशोरी लक्षित कार्यक्रमले किशोरीलाई शाररीरक तथा मानसिक रुपमा सक्षम बनाउने बताउनुभयो ।


कार्यक्रममा बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ,म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरे, परियोजनाका मेन्टर शिक्षक पवित्रा बोगटी केसी, ममता थापा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । परियोजना अन्तरगत म्याग्दी बहुमुखी क्याम्पसका ६ जना, प्रकाश मावि १५ जना,बेनी सामुदायिक १८ जना र बालमन्दिर मावि १८ जना छात्राहरु परीक्षाको माध्यमबाट छनौट भएका थिए ।

परियोजनाको परीक्षामा सहभागि भएर बैैकल्पिकमा परेका २१ जना छात्रालाई इच्छुक भएमा म्याग्दी पुस्तकालयको आन्तरिक स्रोतबाट अनलाइन प्रविधिसहित अन्य नियमित तालिका अन्तरगत जीवनोपयोगी प्रविधिमैत्री शिक्षामा सहभागि गराउने अध्यक्ष अम्बिककुमार श्रेष्ठले बताउनुभयो ।


परियोजनामा समावेश भएका विद्यालयमबाट म्याग्दीका सबै ६ वटै स्थानीय तहका साथै पर्वतको जलजला गाउँपालिकाका विद्यार्थी रहेको म्याग्दी पुस्तकालयकी परियोजना प्रमुख निरमायाँ मिजारले बताउनुभयो । कुल ११ लाख ४३ हजार बजेट रहेको परियोजनामा ८ लाख ६ सय ६० रुपैयाँ रिड नेपाल र पुस्तकालयबाट ३ लाख ४३ हजार १४० रुपैयाँ साझेदारी रहेको छ ।

परियोजनालाई लक्षित गरी ल्याबसहित कम्प्युटर ब्यवस्थापनमा करिब ४ लाख खर्च भएको छ । १५ महिनासम्म सार्वजनिक विदाको दिन प्रविधिमैत्री नेतृत्व विकास सम्बन्धी पठनपाठन कक्षा सञ्चालन गरिने छ । कार्यक्रमको अध्यक्षता श्रेष्ठ, स्वागत कोषाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव नवराज पौडेलले गर्नुभएको थियो ।

Leave a Comment