---Advertisement---

घर-घरमै राहदानी पुगेपछि सेवाग्राही दंग

On: June 12, 2026 9:12 AM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदी गाउँका मनप्रसाद कामीले घरमै राहदानी (पासपोर्ट) पाउनुभयो । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आएर राहदानी फारम भर्नुभएका कामीको राहदानी हुलाकका हल्कारा निर्मला पुर्जाले घरमै लगेर दिएपछि दंग पर्नुभयो । मुनाका निर्मल विक, मच्छिमकी पवित्रा शेरचन, ताकमका गोविन्द पौडेल र धारापानीका भुपेन्द्र थापाको घर–घरमै पुगेर राहदानी वितरण गरिएको छ ।

राहदानी लिनका लागि सदरमुकाम बेनीसम्म धाउनुपर्ने, दिनभर लाइन बस्नुपर्ने र गाडीभाडा र समय खर्च गर्नुपर्ने बाध्यता हटेको मुदीका सेवाग्राही कामीले बताउनुभयो । ‘एकदिनको समय र पैसा बचत भयो,यो सेवाबाट सदरमुकामका कार्यालयको सुविधा पनि घरदै पाइन्छ भन्ने महसुस भयो’ सेवाग्राही कामीले बेनीअनलाइनलाई भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत सेवाग्राहीकै दैलोमा राहदानी पु¥याउने व्यवस्था मिलाएपछि धवलागिरी गाउँपालिकामा पहिलोपटक पाँचजना सेवाग्राहीलाई वितरण गरेको धौवलागिरी पालिका हुलाक कार्यालयका प्रमुख जगत गिरीले बताउनुभयो । ‘हुलाकको सेवालाई घरदैलोमै पुर्याउँछौ, हुलाकप्रति समुदायमा अझै गहिरो विश्वास छ’ प्रमुख गिरीले भन्नुभयो ।


नेपाल सरकारको शासकीय सुधारका १०० बुँदे सूचीमध्ये २७ नम्बर बुँदामा ‘घरमै राहदानी उपलब्ध गराउने’ घोषणा भएपछि म्याग्दी जिल्लामा धमाधम हुलाकमार्फत कर्मचारीले राहदानी वितरण गरिरहेको कार्यालय प्रमुख रमेश थापाले बताउनुभयो ।

हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुगेर उपलब्ध गराउने कामलाई प्रभावकारी बनाउन कर्मचारीलाई तालिमसहित विभिन्न जानकारी समेत दिने गरिएको छ । गत बैशाख महिनामा बेनी नगरपालिका–२ का चार र वडा नम्बर ६ का दुई जना सेवाग्राहीलाई घरमै पुगेर राहदानी उपलब्ध गराएपछि नियमित वितरण भइरहेको छ ।

Leave a Comment