---Advertisement---

समाजसेवी एवं शिक्षाप्रेमी स्व. पदमबहादुर केसीको पाँचौं स्मृति दिवस मनाइयो

On: July 5, 2026 12:57 PM
Follow Us:


समाजसेवी एवं शिक्षाप्रेमी व्यक्तित्व स्व. पदमबहादुर केसीको पाँचौं स्मृति दिवस मनाइएको छ । नेपाली कांग्रेसका अग्रज नेता तथा म्याग्दीको बाबियाचौरका पूर्व जनप्रतिनिधि समेत रहनुभएका शिक्षाप्रेमी, समाजसेवी स्व. केसीको स्मरणमा उहाँकै कर्मथलो रणबाङ (मङ्गला गाउँपालिका–२, बाबियाचौर) मा स्मृति सभा कार्यक्रमको आयोजना गरिएको थियो ।
स्मृति सभामा बोल्दै सामाजिक अभियन्ता एवम् साहित्यकार अजयमिलन श्रेष्ठले स्व. केसी म्याग्दीको सामाजिक र शैक्षिक विकासका मुख्य खम्बा रहेको बताउनुभयो । विशेष गरी मङ्गला माध्यमिक विद्यालय र मङ्गला शिक्षा क्याम्पसको स्थापना तथा विकासमा उहाँले खेल्नुभएको अगुवाइ भूमिकाको चर्चा गर्दै श्रेष्ठले समाज रूपान्तरणका लागि पुर्‍याउनुभएको योगदान सधैँ अनुकरणीय रहने उल्लेख गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा बोल्दै शिक्षक झलकप्रसाद शर्माले स्व. पदमबहादुर केसी समाजसेवा, शिक्षा क्षेत्रको विकास र विस्तारमा आजीवन लागिपरेको स्मरण गर्नुभयो । मङ्गला मावि र मङ्गला शिक्षा क्याम्पस जस्ता ऐतिहासिक शैक्षिक संस्थाहरूको जग बसाल्न केसीले पुर्‍याएको गुन स्थानीयवासीले कहिल्यै बिर्सन नसक्ने शर्माको भनाइ थियो ।
स्व. केसीका छोरा नरसिं केसीले बुबाको सामाजिक र राजनीतिक यात्राका विभिन्न आयामबारे प्रकाश पार्दै उहाँले देखाएको सत्कर्म र सामाजिक सेवाको बाटोमा आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
विक्रम संवत १९८५ साल कार्तिक २४ गते जन्मनुभएका केसीको २०७८ साल असार २० गते ९३ वर्षको उमेरमा निधन भएको थियो । उहाँले आफ्नो सम्पूर्ण जीवन सामाजिक सेवा, लोकतन्त्र स्थापना र गाउँको चौतर्फी विकासमा समर्पण गर्नुभएको थियो ।

Leave a Comment