विगत ८ महिनदेखि रोजगारीको क्रममा सर्बियादेखि इटली जाने क्रममा बेपत्ता भएका बेनी नगरपालिका–९,काउलेगौँडाका विष्णु सार्कीको खोजीकार्यका लागि श्रीमति सरिता मिजारले चन्दा संकलन गरेर काठमाण्डौसम्म पुगिन् । आर्थिक अवस्था कमजोर रहेको र घरखर्च चलाउन समेत हम्मेहम्मे परेको अवस्थामा श्रीमान बेपत्ता भएपछि खोजीकार्यका लागि गरिएको अनेक प्रयास असफल भएपछि काठमाण्डौ पराष्ट्र मन्त्रालय, गृह मन्त्रालयसहित विभिन्न निकायमा सहयोगको याचना गरेकी छन् । श्रीमानको खोजीका लागि सरितालाई गलेश्वरधाम आमा समूहले २७ हजार १६० रुपैयाँ आर्थिक सहयोग गरेको छ । आप्रवासी स्रोत केन्द्र म्याग्दीले निरन्तर पहल गरिरहेको अवस्थामा थप बुझ्न काठमाण्डौ पुगेकी मिजार निराश भएर फर्किएकी छन् ।
ऋण खोजेर पैसा कमाउन विदेश गएकी सार्की कात्तिक २२ गतेदेखि घरपरिवारसँग सम्र्पक हुन सकेको छैन । सम्पर्कविहिन भएका सार्कीको खोजीकार्यका लागि हालसम्म गरिएका प्रयास सफल नभएपछि काठमाण्डौमा पुगेर न्याय खोज्नका लागि सहयोग जुटाइरहेको बताइन् । सर्वियामा रहेका म्याग्देलीले समेत सार्की सम्पर्कविहिन भएका रुटमा खोजीकार्य गरेपनि विभिन्न कानुनी प्रक्रियाका कारण परिणामुखी हुन नसकेको छैन । इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना भएको खवर आएपछि खोजीकार्य भएपनि त्यहाँको प्रहरीसँगको पहुँचको अभावका कारण खोजीकार्यमा प्रगति भएको छैन । बेपत्ता सार्की सम्पर्कविहिन भएको क्षेत्रमा कार्यरत सर्विएन प्रहरीसँग अभिलेख समेत भेटिएको छैन ।

सर्वियामाबाट यूरोपका अन्य देशमा राम्रो तलबसुविधा हुने भएकाले दैनिक हजारौं आप्रवासीहरू जोखिम मोलेर यात्रा गर्ने गरेका छन्। बेपत्ता सार्कीको तस्वीर, पासपोर्ट विवरणसहित सामाजिक सञ्जालमार्फत एनआरएनए सहित अन्य संघसंस्थासँग समेत खोजी गरिदिनुहुन अनुरोध गरिएको छ। बेपत्ता सार्कीको बास्तविकता पहिचान नहुदाँसम्म खोजीकार्यलाई जारी राखिने मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए । ‘बेपत्ता भएपछि विभिन्न माध्यमबाट खोजीको प्रयास भइरहेको छ, खोजीमा आवश्यक पर्ने सबै सहयोग गर्न तयार छौै’ फगामील भने ।
बेपत्ता सार्कीकी श्रीमति सरिताले विदेशबाट श्रीमानको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बित्ने गरेको भन्दै खोजीकार्यमा चासो दिन बिलौना गरेकी छन् । सरिताले भाबुक हुदै भनिन्,‘उहाँसँगै गएका सबै जिवित छन्, कतै अलपत्र हुनुहुन्छ भन्ने लागेर खोजिदिन अनुरोध गरेको छु ।’ जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूतावासको समन्वयमा डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेकाको उद्धार भएपनि सार्कीको अत्तोपत्तो छैन् ।
सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका १३ जना नेपाली चढेको डुंगा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरे पनि राहदानी लगायत कागजात नहुँदा अलपत्र परेकाहरूमा सार्की समेत हुनसक्ने भन्दै खोजीकार्य जारी रहेको केन्द्रकी पौडेलले बताइन् । आप्रवासी स्रोत केन्द्र म्याग्दीकाले गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, जर्मन राजदूतावाससँग समन्वय गरिरहेको छ । खोजीकार्य चुनौतीपूर्ण भएपनि दुर्घटना भएको नदीबाट उद्धार गरिएकाहरु अझैै अस्पतालमा रहेको बताइएकाले त्यहाँ सार्की समेत हुनसक्ने भन्दै उक्तदिन उद्धार भएको विवरण नेपाली सँंघसंस्थालाई प्रहरीबाट लिन परिवारले अपिल गरेका छन् ।














