---Advertisement---

मोना कतार खेलकुद विभागद्वारा म्याग्दीमा भलिबल कभर्ड हल निर्माणका लागि सहयोग

On: July 12, 2026 10:07 PM
Follow Us:

तिलु शर्मा पौडेल दोहा (कतार)

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले पाँचौँ मोना भलिबल कप–२०२६ बाट बचत भएको रकम तथा प्रतियोगितामा उपविजेता बनेबापत प्राप्त पुरस्कार रकमसमेत थपेर म्याग्दीमा निर्माण हुन लागेको भलिबल कभर्ड हलका लागि जग्गा खरिद अभियानमा रु एक लाख १५ हजार पाँच सय ५५ सहयोग गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागसँगको सहकार्यमा आयोजित प्रतियोगिताबाट सङ्कलित उक्त रकम शनिवार बेनीस्थित मोना अन्तराष्ट्रिय कार्यसमितिको कार्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जिल्ला भलिबल सङ्घलाई हस्तान्तरण गरिएको हो। मोना कतारका अध्यक्ष बाबुराम भण्डारी, पूर्व महासचिव कृष्ण शर्मा पुर्व उपाध्यक्षद्धय बालकृष्ण सुबेदी, बालकृष्ण खत्री तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजिन्द्र बानियाँलाई डमी चेकमार्फत सहयोग रकम हस्तान्तरण गरिएको थियो।

उक्त रकम भलिबल सङ्घको बैङ्क खातामा समेत जम्मा गरिएको मोना कतारले जनाएको छ। इद–उल–अजहा र नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजित प्रतियोगितामा विभिन्न व्यक्ति, सङ्घसंस्था तथा सहयोगी दाताहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताबाट १९ हजार १३० कतारी रियाल आम्दानी भएको थियो भने १६ हजार ३४५ कतारी रियाल खर्च भई दुई हजार ७८५ कतारी रियाल बचत भएको थियो।

यही बचत रकममा उपविजेता पुरस्कारसमेत थपेर सहयोग उपलब्ध गराइएको हो। कार्यक्रममा म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजिन्द्र बानियाँले जिल्लामा भलिबल कभर्ड हल निर्माणका लागि जग्गा खरिद गर्न करिब रु एक करोड १० लाख आवश्यक पर्ने जानकारी दिए। पहिलो चरणमा जग्गा खरिद गर्नुपर्ने भएकाले स्वदेश तथा विदेशमा रहेका म्याग्देली र शुभेच्छुक नेपालीबाट सहयोग सङ्कलन भइरहेको उनले बताए। जग्गा खरिद सम्पन्न भएपछि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसँग भवन निर्माणका लागि बजेट मागिने योजना रहेको उनको भनाइ थियो।

जग्गा भलिबल सङ्घको स्वामित्वमा आएपछि सरकारी लगानी भित्र्याउन सहज हुने विश्वास व्यक्त गर्दै अध्यक्ष बानियाँले प्रवासी नेपाली समुदायले जिल्लाको खेलकुद पूर्वाधार विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले मोना कतार खेलकुद विभागको योगदानलाई निर्माण सम्पन्न भएपछि शिलालेखमा अभिलेख गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले संस्थाले स्थापना कालदेखि नै म्याग्दीमा सामाजिक, शैक्षिक, स्वास्थ्य, विपद् व्यवस्थापन तथा खेलकुद विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जिल्लाको आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिइने बताए ।

उनले प्रतियोगिता सफल बनाउन खेलकुद विभागका कार्यक्रम संयोजक कृष्ण पटेल, विभाग संयोजक पल सुन्दास, उपसंयोजक डम्बर थजाली, टिम व्यवस्थापक, स्वयंसेवक, प्रायोजक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

मोना कतार खेलकूद् विभागमा रविन पटेल, विकास पटेल, कुमार बि.क., राम परियार, विवेक शाही, राजकुमार रसाइली, कुमार पुन, दुर्गन हमाल, समुशेर बि.क., गोविन्द पुर्जा, होम खत्री, हिमाल रसाइली, नीरज पटेल, प्रेम गौतम, श्री रोका, नारायण रसाइली, कमल बि.क., टिका बुढा प्रेम गौतम, समीर तामाङ, राजा छन्त्याल, सचिन रोका, एम. डी. कौशिल, विजय रसाइली, श्री प्रसाद गौतम, बिल बहादुर थजाली सहितको टिम रहेको छ l

Leave a Comment