बसाइँसराइका कारण खाली बनेका जग्गालाई प्रयोगमा ल्याउन बागलुङको ताराखोला गाउँपालिकाले समूहिक जैविक खेती गर्ने भएको छ । गाउँका खेतबारीमा झाडी पलाउँदै गएपछि बाँझो जमिनलाई एकीकृत गरी ‘भूमि बैंक’मार्फत सामूहिक जैविक खेती गर्ने भएको हो ।
बजार झरेका नागरिकलाई गाउँ फर्कनका लागि प्रेरित गर्न पालिकाले युवा समूह तथा सहकारीमार्फत जैविक खेतीलाई प्राथमिकता दिन थालेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । एकीकृत रुपमा खेती गर्दा खेतीयोग्य जमिन खाली नहुने र नागरिक जीवनस्तर बदलिने उहाँको भनाइ छ ।
अहिलेसम्म परम्परागत खती गर्दा वर्ष दिनसम्म खान नपुग्ने नागरिकलाई आधुनिक खेती प्रणालीसँग जोड्ने अध्यक्ष विकले बताउनुहुन्छ । गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमसमेत प्राथमिकता दिएको उहाँको भनाइ छ । निजी तथा खाली बाँझो जग्गाको उपयोग गरि उत्पादन बढाउनको लागि टिमुर, कागती, स्याउ, किवी, अलैची, बोधिचित्त, एभोकाडो, ओखर, आल्मण्डको खेती विकको भनाइ छ ।
“दिन दिनै गाउँका उर्वर खेतबारीहरु बाँझो बन्दै गएका छन्, ति बाँझो जमिनको प्रयोग गरि नागरिकलाई उत्पादन र आयआर्जनसँग जोड्नका लागि भूमि बैंँकमार्फत जैविक खेती गर्ने योजना अगाडि सारेका छौँ” अध्यक्ष विकले भन्नुभयो – “खेतबारी हराबरा बनाउने र नागरिकको जीवनस्तर उकास्ने गरि काम गर्न थालेका छौँ, यसको परिणाम तत्काल नदेखिए पनि केही वर्षमै देखिने छ ।”
जैविक खेतीलाई प्रोत्साहन गरी ‘ताराखोला अर्गानिक उत्पादन’ ब्राण्ड विकास गरिने अध्यक्ष विकले उल्लेख गर्नुभयो । ताराखोला पशुपालनका लागि पनि अत्यन्त उपयुक्त ठाउँ रहेको हुँदा ‘एक गाउँ, एक पशु पकेट क्षेत्र’ घोषणा गरेर काम थानली गर्ने उहाँको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यम तथा उत्पादनसँग जोड्ने खालका कार्यक्रमहरु ल्याएको बताउनुभयो । रोजगारी सिर्जनाका लागि ३९० घण्टा बराबरको सिपमुलक तथा व्यवासायिक तालिम सञ्चालन गर्ने र ‘एक घर, एक रोजगार’ कार्यक्रमसमेत ल्याएको उपाध्यक्ष रोका बताउनुहुन्छ ।
ताराखोलाको प्रसिद्ध अल्लो, हस्तकला, काष्ठकला, लोक्ता, जडीबुटी प्रशोधन तथा खाद्य उद्योग व्यवस्थित रुपमा संचालन गरिने उहाँले बताउनुभयो । ताराखोलामा पाइने स्लेट ढुङ्गा, गिटी बालुवा, वन पैदावर, काठजन्य वस्तुहरुलाई घरेलु तथा साना उद्योगको रुपमा विकास गरिने उपाध्यक्ष रोकाले उल्लेख गर्नुभयो । गाउँपालिकाले यस अगाडि गाउँका केही जमिनमा नगदेबाली लगाएर आम्दानीसमेत गर्दै आएको छ ।















