हरिकृष्ण गौतम
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३,घिलिङको उच्च लेकमा च्याङ्ग्रा चराइरहनुभएका भुपाल कोइराला इलाम जिल्लाबाट मुस्ताङ पुगेको साढे दुई दशक भयो । च्याङ्गाको बथान लिएर चरन क्षेत्रमा उक्लिने कोइरालाले धेरै रात खुल्ला आकाशमा विताउनुभएको छ । इलाम जिल्लाबाट बि.स २०५८ सालमा रोजगारीको खोजीमा उपल्लो मुस्ताङ आउनुभएका कोइरालाको २४ बर्षयता बिहानैदेखि राति अबेरसम्म च्याङ्ग्राको स्याहार्दै बित्छ ।

रू १ सय रूपियाँ मासिक ज्याला लिएर गोठालो सुरू गर्नुभएका कोइरालाले खाना र कपडाबाहेक वार्षिक १ लाख २० हजार तलब पाउनुहुन्छ।उमेर घर्कदै गए पनि दैनिक ५ सयभन्दा बढी च्याङ्ग्राको बथान लिएर उच्च हिमाली क्षेत्रदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने कोइराला बिरामी नहुन्जेल गोठालोका परिचयमै रमाउने बताउनुहुन्छ। कोइरालासँगै रोल्पाका आकाश बुढा बैदेशिक रोजगारीमा जाने आर्थिक जुटाउन नसकेपछि काम खोज्दै उपल्लो मुस्ताङ पुगेपछि एक वर्षयता गोठमा काम गर्नुहुन्छ । कोइराला भन्नुहुन्छ,‘‘गोठालो भएर भिरपाखामै हिड्दा हिड्दै बुढो भए,अब बाँकी जीवन पनि यही भिरपाखामै विताउँछु ।’’हिमाली क्षेत्रमा च्याङ्ग्रा लिएर जाँदा हिमचितुुवा,ब्वाँसोर जङ्गलीकुुकुरले सताउने गरेको गोठालो कोइरालाको भनाई छ।

कोइराला भन्नुहुन्छ,‘‘कहिलेकाँही त ज्यानै जोगाउन हम्मेहम्मे पर्छ, धेरैपटक बन्यजन्तुको आहारा हुनबाट जोगिएर फर्किएको छु।’’ मुस्ताङ प्रवेश गरेपछि एकपटक पनि घर नफर्किनुभएका कोइराला बिरामी हुदाँ रोल्पाका बुढाले एक्लै चरन क्षेत्रमा च्याङ्ग्रा लैजानुहुन्छ । घरपरिवारविहिन कोइरालाले मासिक आम्दानीलाई आवश्यकता अनुसार खर्च गर्ने गरेको बताउनुहुन्छ ।
गोठालोको संर्घर्ष धेरै भएपनि सरकारी निकायले चासो नदिने गरेकोमा भने कोइरालाको गुनासो छ।कोइराला भन्नुहुन्छ,‘‘भुईमान्छेले दुःख नगरे भोकभोकै बस्नुपर्छ, घरवारविहिनलाई बुढेशकालमा बाँच्न पनि गाहे छ ।’’लामो समयसम्म गोठालो जीवन विताउनेलाई पेन्सन, स्वास्थ्य उपचारसहितका सुविधा दिन समेत कोइरालाले अनुरोध गर्नुभयो । उहाँ भन्नुहुन्छ,‘‘अहिले नयाँ सरकार बनेको छ, हिमाली भेगमा ज्यान फालेर काम गरिरहेका मजस्तालाई पनि नजर लगाउन सकेमा राम्रो हुन्थ्यो ।’’
मुस्ताङका म्याग्दी, पर्वत, बागलुङ, रुकुम, रोल्पा, डोल्पा, धादिङ लगायतका पूर्वी नेपालबाट काम खोज्दै गोठाला बस्न आएकाले न्यूनतम १० हजारदेखि २५ हजारसम्म तलबसुविधा पाउने गरेका छन् । पछिल्लो समय गोठालाको अभावका कारण पशुपालक किसानले संख्या घटाउँदै लैजान थालेका छन् ।
पछिल्लो समय गोठालाको तलबसुविधा महंगो हुन थालेपछि गाउँमा थोरै संख्यामा च्याङ्गा पालन गरेकाले मिलेरतलब दिनेगरी गोठाला राख्ने गरेको समेत पाइन्छ । कृषि तथा पशु विकास कार्यालय प्रमुख डा.लालमणी अर्यालका अनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा सानाठुला करिब ४ सय गोठमा ६६ हजार च्याङ्ग्रा पालिएका छन्।
कार्यालय प्रमुख डा. अर्यालका अनुसार अधिकांस गोठमा भेडाच्याङ्गाको हेरचाह गर्ने गोठाला जिल्ला बाहिरबाट आउने गरेका छन् । थासाङ, घरपझोङ गाउँपालिकामा भेडापालन तथा बारागुङ मुक्तिक्षेत्र,लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका च्याङ्ग्रापालन गर्ने गरिएको छ । मुस्ताङको उच्च हिमाली क्षेत्रमा पालिएको भेडाच्याङ्ग्रा चाडपर्वमा अत्याधिक माग छ ।
लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३,घिलिङको चरन क्षेत्रमा भुपाल कोइराला र आकाश बुढा । तस्वीर हरिकृष्ण गौतम











