---Advertisement---

खै बेलिब्रिज? काजमै हरायो

On: July 14, 2026 9:54 AM
Follow Us:


हरिकृष्ण गौतम
बर्षासँगै मंगलबार विहानैदेखि पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने सडकखण्ड अन्तरगत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण अवरुद्ध हुन लागेको बषौं भयो । फापरखेत पहिरोको सास्ती हटाउने गरी बेलिब्रिजका लागि स्रोत सुनिश्चिता भएपनि बजेट फ्रिज र सरकारी निकाय प्रक्रियामै अल्झिदाँ पहिरोमै जोखिम मोलेर यात्रा गनुपर्ने बाध्यता हटेको छैन ।


सामान्य बर्षामा पनि माथिबाट खस्ने पहिरोले मंगला, मालिका र धवलागिरी गाउँपालिकाबासीलाई घण्टौसम्म सास्ती दिने गरेको छ । पहिरो झन झन भयानक बन्दै जाँदा दुई दशकदेखि पहिरो टाउको दुखाइ बनेको छ । पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि सरकारी संयन्त्रबाट भएको ढिलासुस्तीका कारण सर्वसाधारणले सास्ती माथि सास्ती खेप्नुपरेको छ भने यसबर्ष दुईवटा ट्र«क खोलामा खसेको थियो । साना र ठूला सवारीसाधनमा यात्रा गर्दा ज्यानकै बाजी लगाउनुपर्ने बाध्यता रहेको सडकखण्डमा परिणाम देखिने गरी काम हुन सकेको छैन ।


बाह्ै महिना जोखिम बनेको फापरखेतको पहिरोले सडकमा आवतजावत मात्रै होइन आसपासका क्षेत्रमा रहेका घरलाई समेत जोखिम बनाएको छ ।‘यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ,बैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिदाँ समस्या ज्युँकोत्युँ छ’ यात्रु दिलबहादुर किसानले भन्नुभयो ।

सडकखण्डमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोली पटकपटक पुगेपनि एउटा बेलिब्रिज ल्याएर समस्या समाधान गर्न महाभारत भएको भन्दै सर्वसाधारण आक्रोशित छन् । तत्कालिन समयमा ड्रिलिप परियोजना, जिविस तथा हाल पूर्वाधार कार्यालय बजेट खन्याएर पनि माथिबाट खस्ने पहिरो नरोकिदाँ पश्चिम म्याग्दीबासीले बर्खाको समयमा जोखिम मोलेर यात्रा गर्नुपरेको छ ।


करिब २० वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। असार महिनामा मात्रै पटकपटक पहिरो खस्यो, पन्छाउन ढिलाई हुदाँ घण्टौसम्म यात्रु सडकमै रोकिनुपरेको यात्रुको गुनासो छ ।फापरखेतमा करिब २ सय मिटर सडक पहिरोग्रस्त छ । सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै गएको छ ।

मंगला गाउँपालिका वडा नं ३ पखेर लुलीयाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणको प्रस्ताव अनुसार आगामी बर्खाको समयमा पहिरोस्थलबाट आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्यका लागि जिल्लाका जनप्रतिनिधिको प्रयास भएपनि सरकारी निकायका कर्मचारीको ढिलासुस्ती र प्रक्रियामा अवरुद्ध गर्दा समस्या जटिल बनेको छ ।


यसबर्ष पनि बेलिब्रिजका लागि प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भएपनि एउटै योजनामा दुई सरकारको बजेट कार्यान्वयनको जटिलताले समेत रोकिने जोखिम छ । विगतमा पनि संघीय सरकारले प्रदेशको योजना भन्दै बेलिब्रिजको प्रक्रियामा निर्वतमान प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले पहल गर्दा समेत पन्छिने प्रयास गरेका थिए ।

एउटै योजनामा संघीय र प्रदेशको बजेटले काम गर्दा महालेखाबाट प्रश्न उठ्न सक्ने भन्दै कर्मचारीहरुले बेवास्ता गर्ने गरेकाले आगामी आवभित्र बेलिब्रिज बन्ने सम्भावनलााई सरकारी निकायबाटै आशंका गर्ने गरिएको छ । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पहिरोका कारण भोग्नुपरेको सास्ती हटाउन गरिएका प्रयासहरुमा विभिन्न अवरोध भएको बताउनुभयो । बेनी र मंगलाका जनप्रतिनिधिसहित प्रदेश र संघीय सरकारका सांसदको पहलको परिणाम देख्न सकिएको छैन ।


२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौति बनेको छ । पटकपटक पन्छाउने क्रममा माथिबाट पहिरो खसेर अप्रेटर दुर्घटनामा पर्ने अवस्था छ । पहिरो पन्छाउने काम भएपनि निरन्तर बर्षा हुदाँ अवरुद्ध हुने भएकाले मर्मतसम्भारमा समेत धेरै खर्च भएको छ । सडक अवरुद्ध हुदाँ निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीसहित दैनिक उपभोग्य सामग्रीको ढुवानी र ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु बजारीकरणमा समस्या भएको छ ।

Leave a Comment