एक दम्पत्तीले नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आश्रीत बालबालिकालाई ७० हजारभन्दा बढीको सहयोग गरेका छन् । बेनी नगरपालिका–७, मंगलाघाट घर भएका वर्षात् तथा दुर्गा फगामीले बालगृहमा रहेका बालबालिकालाई भोजनसहित ट्याकसुट,जुत्ता, झोला तथा कपिकलमका साथै नगद प्रदान गरेका हुन् ।

बेनपा–७ का वडा सदस्य रमेश फगामीका छोराबुहारीले बालगृहमा बस्ने अभिभावकविहीन बालबालिकालाई वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा सदस्य सृजना श्रेष्ठ, सोहन श्रेष्ठ, नेपाल मगर जिल्ला समन्वय समितिका अध्यक्ष खम थापा मगर, बेनी सामुदायिक माविका शिक्षक प्रविण श्रेष्ठ सहितको उपस्थितीमा बाल संगठनका अध्यक्ष राजेश शाक्य, सचिव सन्दिप खत्री, कोषाध्यक्ष हरिप्रसाद पौडेलमार्फत सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
स्थानीय बौद्ध यूवा क्लवका पूर्व खेलाडी हाल अष्टेलियामा रहेको बेनी फुटबल क्लवका सदस्य समेत रहेका वर्षात्ले यसअगाडी समेत विभिन्न स्थानमा सहयोग गरेका छन् । सहयोग हस्तान्तण कार्यक्रममा सहयोगदाताका बुबा फगामीले बालगृहका बालबालिकालाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बालगृहमा विभिन्न संघसंस्थामार्फत प्राप्त सहयोगसहित घरभाडाबाट खाना, सुरक्षा, पालनपोषण, शिक्षासहितमा खर्च गर्ने गरिएको छ। जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा थोरै भए पनि बालगृहलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित विभिन्न सहयोग समेत गर्ने गरिएको छ।










