---Advertisement---

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालय को कागजरहित सेवा

On: July 30, 2026 4:31 PM
Follow Us:

म्याग्दीमा कागजरहित सेवा दिने खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय पहिलो भएको छ । यही साउन १२ गतेदेखि कार्यालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएसँगै जिल्लाका सरकारी कार्यालयमा डिजिटल प्रविधिको प्रयोग गर्ने पहिलो बनेको हो ।


एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएसँगै कार्यालयको प्रशासनिक कार्यसम्पादनमा गुणात्मक सुधार हुने,कागजी प्रक्रियामा कमी आउने,अभिलेख व्यवस्थापन थप सुरक्षित र व्यवस्थित हुने,कार्य सम्पादनको अनुगमन तथा जवाफदेहिता अभिवृद्धि हुने तथा सेवा प्रवाहलाई थप छिटो,सरल र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको कार्यालयका प्रमुख इन्जिनियर झलक मोहन ओझाले बताउनुभयो ।


कार्यालयबाट सम्पादन हुने दैनिक प्रशासनिक कार्यहरुलाई डिजिटल प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयन गरिएको कार्यालय प्रमुख इन्जिनियर ओझाले जानकारी दिनुभयो ।

विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत,अभिलेख व्यवस्थापन लगायतका कार्यहरु डिजिटल प्रविधिबाट मार्फत थालिएको छ । यो प्रणाली लागू गरेपछि कार्यालयको कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी हुने कार्यालय प्रमुख ओझाको भनाई छ ।


जीआईओएमएस मार्फत तोक आदेश र टिप्पणी–निर्णय, चिठीपत्र दर्ता–चलानी, हाजिरी, बिदा तथा काज स्वीकृति, अभिलेख व्यवस्थापनलगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरसहित सम्पादन गर्नका लागि गण्डकी प्रदेश सरकारको उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयले कर्मचारीलाई दुईदिन सम्म अभिमूखिकरण समेत गरिएको छ । जिल्लाका अन्य सरकारी कार्यालयले समेत डिजिटल प्रविधिको प्रयोग गरेमा कागजसहित अन्य कार्यमा हुने खर्चको बचत हुने छ भने सेवाग्राहीलाई समेत सहज सेवा प्रवाह गर्न मिल्ने छ ।

Leave a Comment