---Advertisement---

चिनाखेल पहिरोले तीन घरपरिवार विस्थापित, कटानले २५ घरगोठ जोखिममा

On: July 27, 2026 8:57 PM
Follow Us:


हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको चिनाखेतमा निरन्तरको भारी वर्षाका कारण पहिरोसँगै खोलामा आएको बाढीले एकजनाको ज्यान गएको छ भने व्यापक क्षति भएको छ । बस्तीबाट करिब ५ सय मिटर माथिको जंगलमा पहिरो गएपछि चिनाखेत खोलामा आएको बाढीले घर पुरिदाँ सुतिरहेको अवस्थामा स्थानीय ७० वर्षीय लालवीर छन्त्यालको घटनास्थलमै मृत्यु भएको छ भने दुधेखोलाका दुई तीन घर विस्थापित भएका छन् ।

मृतक छन्त्यालकी श्रीमतिको प्रदेश अस्पताल बेनीमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ भने गोठमा रहेको २ भैसीसहित १ पाडो र १ बाख्रालाई खोलाले बताएको छ । मृतकको परिवारलाई जिल्ला विपद् ब्यवस्थापन समितिले रु ५० हजार नगद सहयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार खोलामा आएको बाढीले दुधेखोला स्थित रहेको भुमिसर घर्तीको टिनले छाएको कच्ची घरको बाँया पट्टिको भाग बगाउदा दुधेखोला आमा समुहको जिन्सी सामान बगाएको छ । त्यस्तै स्थानीय खर्क बहादुर रोका मगर,अम्मर बहादुर थापा घर उच्च जोखिममा परेकाले आफन्तको घरमा सामान सारिएको छ ।

चिनाखेत खोलमा आएको बाढीले २५ घरगोठ उच्च जोखिममा परेको वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । ‘पहिरोसँगै आएको बाढीले खोला आसपासका घर र गोठ जोखिममा परेको छ, विस्थापितलाई उचित पुर्नस्थापनाको पहल गरिएको छ’अध्यक्ष पुनले बेनीअनलाइनलाई भन्नुभयो ।

गाउँमाथिबाट बग्ने चिनाखेत खोल्साबाट खसेको पहिरोलेआसपासका क्षेत्रको खेतीयोग्ग जमिन समेत तहसनहस पारेको अवस्थामा आसपासका घरपरिवारलाई सुरक्षित हुन समेत अनुरोध गरिएको वडा अध्यक्ष पुनको भनाई छ ।


यसैबीच प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुद्वारा विपद्बाट प्रभावित क्षेत्रहरुको स्थलगत निरीक्षण समेत गरिएको छ । बाढीपहिरोले कुरुङ छहरा र कोप्रे छहरामा अवरुद्व भएको सडक सञ्चालन गरिएको छ भने दुधखोलामा जोखिमयुक्त र कटानयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणसहित स्थानीय जनप्रतिनिधि,प्रदेश र संघीय सांसद तथा मन्त्री महावीर पुनसँग राहत तथा पुर्नस्थापनाका लागि समन्वय गरिएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्त पार्टीका जिल्ला सभापति यूवराज रोका, यूवाहरुको संस्था साहरा समुहले जोखिमपूर्ण घरबाट सामानहरु सुरक्षित स्थानमा स्थानान्तर गरेका थिए । यसैबीच जिल्लाको धवलागिरि गाउँपालिका– ७, धारापानी तल्लो हाडेभिरस्थित धनकुमारी थापाको घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका तीनजनाको उद्धार गरिएको थियो ।

उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुईजनाको अवस्था सामान्य रहेको थियो । जिल्लाभर भिषण बर्षासँगै आएको बाढीपहिरोले ग्रामीण सडकहरूसमेत अधिकांश अवरुद्ध बनेको अवस्थामा मुख्य सडकहरु सुचारु गराइएको छ ।

Leave a Comment