म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीको चिनाखेतमा बाढीपहिरोमा ज्यान गुमाएका पीडित परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिले आर्थिक सहयोग गरेको छ ।

गएको साउन १० गते राती चिनाखेल खोल्सामा आएको भीषण बाढीमा ज्यान गुमाउनुभएका स्थानीय ७० वर्षीय लालवीर छन्त्यालको परिवारलाई बुधबार वडा अध्यक्ष पदमबहादुर पुन, मोनाका महासचिव सुवास राम्जालीले घरमै पुगेर रु ५० हजार सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।

‘बाढीपहिरोबाट विस्थापितलाई समेत सहयोग गर्न विश्वभर रहेका म्याग्देलीलाई समेत अनुरोध गरेका छौ,सबै मिलेर समस्या समाधानमा हातेमालो गर्नुपर्छ’ महासचिव राम्जालीले भन्नुभयो । सोही अवसरमा वडा अध्यक्ष पुनले बाढीपहिरोबाट विस्थापित र क्षती भएकालाई राहत संकलनको अभियानमा रहेको बताउनुभयो । ‘अब एकद्धार प्रणालीबाट राहत संकलन गरी क्षतीअनुसार वितरण गरिनेछ, बाढीपहिरोले चिनाखेत र दुधेखोलामा २५ घरगोठ सहित खेतीयोग्य जमिन बगरमा परिणत भएकाले क्षतीको बर्गिकरण गरी राहत वितरणको योजनामा रहेको वडा अध्यक्ष पुनले बताउनुभयो ।

यसैबीच नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीले तत्काल आवश्यक पर्ने सामाग्रीसहित रेडक्रस बेनी नगरपालिका संयोजक दुर्गाराम सुबेदीले रु ६ हजार ब्यक्तिगत रुपमा सहयोग गर्नुभएको छ । चिनाखेत गाउँमाथिबाट बग्ने चिनाखेत खोल्साबाट खसेको पहिरोसँगै आएको बाढीले तहसनहस बनाएपछि स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ । खोल्साले कटान गरेको क्षेत्र आसपासमा तत्काल बस्ती संरक्षणका लागि समेत योजना माग गरिएको छ ।












