पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहण क्रममा हराइरहेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) ले यसपालि उक्त हिमाल चढ्ने कुनै योजना नरहेको आफ्नो फेसबुकमा लेखेका छन्।
बिहीबार दिउँसोको हिमपहिरोमा परी पुर्जा नेतृत्वको १० सदस्यीय टोली सम्पर्कविहीन भएको हो। तीमध्ये चार जनाको शव फेला परेको छ भने अरूको खोजी जारी छ।
पुर्जाले चार दिनअघि जुलाई २७ तारिख साँझ ५ बजेर २१ मिनेट जाँदा आफ्नो फेसबुकमा ‘यो आरोहण अहिले आफ्नो योजनामा नरहेको’ उल्लेख गरेका छन्।
उनले संसारका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये १२औं स्थानमा पर्ने ब्रोड पिक आरोहण गर्नुको कारण पनि आफ्नो फेसबुकमा खुलाएका छन्।
उनले फेसबुक पोस्टमा ‘द मिसन सिफ्ट्स, द कम्पास होल्ड्स’ भनेर लेखेका छन्, जसको आसय हुन्छ — लक्ष्य परिवर्तन भएको छ, तर दिशा उही छ।
फेसबुक स्ट्याटस अनुसार, निम्सको योजना पाकिस्तानको जी–टू (ग्यासरब्रुम–२) मात्र चढ्ने थियो। तर पाकिस्तान जानुअघि उनले ८००० मिटर उचाइका हिमालमध्ये ब्रोड पिक र नेपालको चोयू मात्र अक्सिजनबिना दुई पटक चढ्न बाँकी रहेको सम्झे।
त्यसपछि पाकिस्तानमा छँदा नै ब्रोड पिक आरोहण गर्न पाए नेपालको चोयू मात्र दुई पटक चढ्न बाँकी रहने हुँदा यसपालि नै यो काम गर्ने योजना बनाएको उनले फेसबुकमा लेखेका छन्।
उनी आफ्नो फेसबुक स्ट्याटसमा लेख्छन् —
‘यो मेरो योजनामा थिएन। सुरूको योजना जी–टू (ग्यासरब्रुम–२) मात्र चढ्ने थियो। तर पाकिस्तानतर्फ लाग्नुअघि मैले आफ्ना ८,००० मिटर उचाइका हिमशिखर आरोहणको हिसाबकिताब हेरेँ। त्यही बेला मलाई महसुस भयो– यदि मैले यहाँ छँदै ‘ब्रोड पिक’ पनि सफल आरोहण गरेँ भने, मेरो लागि केवल एउटा मात्र बाँकी रहन्छ — ‘चोयू’। त्यसपछि म कुनै पनि पूरक अक्सिजनबिना संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल दुई–दुई पटक चढ्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु।’
उनी अगाडि लेख्छन् —
यो योजनाबद्ध थिएन। मेरो ध्यान ‘ह्याट्रिक प्रोजेक्ट’ मै केन्द्रित थियो, किनकि यसको पछाडि एउटा अझ ठूलो उद्देश्य थियो। तर अवसरहरू चिच्याएर आउँदैनन्; अवसरले तिनकै अगाडि सुस्तरी फुसफुसाउँछन्, जो पहिल्यैदेखि मौन रहेर कडा मिहिनेत गरिरहेका हुन्छन्।
एउटा रहस्य मैले प्रत्येक अभियानमा आफूसँगै बोकेर हिँडेको छु — मैले कहिल्यै अरू कसैसँग प्रतिस्पर्धा गरिनँ। मेरो एक मात्र प्रतिस्पर्धा म आफैसँग थियो। म हिजो जे थिएँ, त्योसँग मात्र मेरो प्रतिस्पर्धा थियो। म हरेक दिन, आफ्नै सीमाहरूसँग जुध्दै थिएँ। किनभने, जुन क्षण तपाईं दायाँ–बायाँ हेर्न थाल्नुहुन्छ; अरूले के गरिरहेका छन्, के भनिरहेका छन्, वा के हासिल गरिरहेका छन् भनेर सोच्न थाल्नुहुन्छ; त्यही क्षण तपाईं आफ्नो सही दिशाबाट भड्किनुहुन्छ। तपाईंको गन्तव्य र दिशा केवल तपाईंको हो, यसलाई दृढतापूर्वक रक्षा गर्नुहोस्।
जब मैले ‘प्रोजेक्ट पसिबल’ का क्रममा बिनाअक्सिजन १४ वटै हिमाल चढेँ, मानिसहरूले मेरो आलोचना गरे। यदि त्यो सफलता पछाडिको संघर्ष तपाईंले देख्नुभएको छैन भने, नेटफ्लिक्समा ’14 Peaks’ हेर्नुहोस्। त्यो फिल्म कुनै पनि मिसावट नगरिएको यथार्थ घटनामा आधारित छ।
त्यति बेला म अन्य टोलीहरूले छाडिदिएका आरोहीहरूको उद्धार गरिरहेको थिएँ, आफै रकम जुटाइरहेको थिएँ, अग्रपंक्तिमा रहेर टोलीको नेतृत्व गरिरहेको थिएँ, आफै अघि सरेर डोरी टाँगिरहेको थिएँ, चीनसँग सिसापाङ्माको अनुमतिका लागि पहल गरिरहेको थिएँ; र मेरी आमाको अपरेसन बेला अस्पतालमा बसिरहेको थिएँ। त्यसबाहेक पनि अझ अरू धेरै कुरा सम्हालिरहेको थिएँ।
अनि अहिले?
अहिले म बिनाअक्सिजन दोहोर्याएर यी हिमाल आरोहण गर्दैछु, कुल मिलाएर तेस्रो पटक। बाहिरको होहल्ला अझै रोकिएको छैन। तर मैले ती हल्ला सुन्न छाडिदिएको छु।
जसलाई अझै पनि शंका छ, म उनीहरूलाई भन्न चाहन्छु — मैले पहिल्यै पाकिस्तानमा रहेका ८ हजार मिटर उचाइका सबै ५ वटा हिमाल चढिसकेको छु, त्यो पनि मात्र २६ दिनमा। ती आरोहणमा मैले नेतृत्व गरेँ, गाइड गरेँ, बिना अक्सिजन। र, जसले अक्सिजन प्रयोग गरेर मेरो रेकर्ड तोडे, म आज ती रेकर्ड फेरि तोड्दै छु। यसका सबै प्रमाण छर्लंग छन्।
ब्रोड पिक! म केवल सुरक्षित रूपमा माथि पुग्ने र फर्किने बाटोको याचना गर्छु।
म कुनै पनि हिमाललाई हल्का रूपमा लिन्नँ। लिँदै लिन्नँ। जुन क्षण मेरो पाइला बेसक्याम्पबाट अघि बढ्छ, त्यहाँ मेरो शत–प्रतिशत समर्पण रहन्छ। मेरो यो समर्पण सधैं यस्तै थियो। र, सधैं यस्तै रहनेछ।
यो आरोहण मलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने प्रत्येक व्यक्तिमा समर्पित छ। समर्थकहरू, आलोचकहरू, तपाईंहरू सबैमा। यसका लागि म तपाईंहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
मेरो उद्देश्य कहिल्यै मेरो आफ्नो लागि थिएन। यो त मैले जे कुराको प्रतिनिधित्व गर्छु, त्यसका लागि हो।
तपाईंहरू सबैलाई यो साबित गर्न हो — तपाईंका आफ्ना जीवनका हिमालहरू जस्तोसुकै किन नहून्, ती सबै चढ्न सकिन्छ।









