बसाईसराई गरी चितवनको रामनगरमा जानुभएका विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’का दाई जीतबहादुर पूर्जा हरेक बर्ष ‘निम्स दाइ’ फर एजुकेसनद्धारा दानास्थित ज्ञानप्रकाश माविमा स्थापना गरेको अक्षय कोषबाट पुरस्कार वितरणका लागि गाउँ आउनुहुन्छ । पूर्व शिक्षक समेत रहनुभएका जीतबहादुरले पुरस्कार वितरणसँगै तितरमा पुगेर फर्किनुहुन्छ ।
गाउँका सामुदायिक विद्यालयमा आर्कषण बढाउन जीतबहादुरकै अनुरोधमा निम्स फाउण्डेशनले ४० लाख नगद भएको अक्षय कोष स्थापना गरेपछि ज्ञानप्रकाश माध्यमिक विद्यालयबाट आधारभूत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई बार्षिक २ लाख ३० हजार नगद पुरस्कार वितरण गर्ने गरिएको छ ।
कक्षा १२ उत्कृष्ट नतिजा ल्याउनेलाई नगद १ लाख नगद,एसइईमा विद्यालय प्रथम हुनेलाई ८० हजार र कक्षा ८ मा प्रथम हुनेलाई नगद ५० हजार नगद र सम्मान पत्रसहित गाउँमा रहेको सरस्वती उमावि, ज्योति उमावि, सुवा उमावि, जनकल्याण उमाविमा रहेका विद्यार्थीलाई शैक्षिक साम्रागी सहितका सहयोग हस्तान्तरण गर्ने क्रममा जीतबहादुरले भाई निम्सको बाल्यकालदेखि हिमाल आरोहणको पछिल्लो अवस्थाका बारेमा गाउँलेलाई सुनाएर फर्किने गर्नुहुन्थ्यो ।

कोष स्थापना भएपछि तीनबर्षसम्म लगातार पुरस्कार वितरण गर्न आउनुभएका जीतबहादुरले गतबर्ष एकपटक भाई निम्सकै हातबाट विद्यार्थीलाई पुरस्कार दिने बाचा गर्नुभएको थियो । ‘अर्कोपटक भाई निम्सलाई नै ल्याएर आउँछु, राम्रो सँग पढ्नुहोला,भाईको हातबाट पुरस्कार थाप्नुपर्छ’ दाई जीतबहादुरको बाचा सम्झिदैं विद्यालयका प्रधानध्यापक शान्तबहादुर नेपालीले बेनीअनलाइनलाई भन्नुभयो । हरेक बर्ष विद्यार्थीलाई फाउण्डेशनले सहयोगसँगै भावी योजनाका बारेमा समेत सुनाउने गरिएको थियो ।

प्रअ नेपालीले विद्यालयमा स्थापना भएको पुरस्कारबाट उच्च शिक्षासहित विद्यार्थीमा पढाईमा समेत प्रतिस्पर्धा भएको र गाउँबाट अन्यत्र पढ्न जानेको संख्या घटेको छ’ प्रअ नेपालीले भन्नुभयो । पर्वतारोही पूर्जाको पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएपछि अहिले जन्मभूमी दाना र चितवनको रामनगरस्थित घर शोकमग्न बनेको छ।
दानाको तितरमा रहेको स्वर्गीय निम्स जन्मिएको घर भग्नावसेसमा परिणत भएपनि दाई जीतबहादुरको जग्गासहितको घर छ । आफन्तहरु गाउँमै भएपनि परिवारका अन्य सदस्य चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको छ ।

पाकिस्तानमा हिमपहिरोबाट शब निकाल्दै गर्दा घरमा निम्सको तस्बिरमा माल्यार्पण गर्नुका साथै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। आफन्त, छिमेकी र शुभचिन्तकहरू घरमा पुगेका छन्। स्वर्गीय निम्सले हिमाल चढ्दा सधै यूकेमा रहनुभएका कमलबहादुर पूर्जा र चितवनमा जितबहादुरलाई जानकारी दिनुहुन्थ्यो ।
यसपटक विना योजना पाकिस्तानको ब्रड पिक हिमालको आरोहण गर्ने तयारीका बारेमा सामाजिक सञ्जालमै लेख्नुभएका आरोही निम्सले घरपरिवारलाई समेत पहिलोपटक आरोहणका बारेमा जानकारी नदिएको दाई जितबहादुरको भनाई छ । ‘पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्न फोन गथ्यो,पाकिस्तानमा भने दुर्घटना भएपछि मात्रै जानकारी पाए’ जीतबहादुर भाबुक हुदै भन्नुभयो । निर्मलका चार दाजुभाइ र एक बहिनी छन्। बहिनी अस्ट्रेलियामा हुनुहुन्छ ।

‘निम्स दाइ’ फर एजुकेसनका संस्थापक आरोही पुर्जाले आफ्ना कम्पनीको आम्दानीबाट शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सहयोग गर्ने गरेको फाउण्डेशनका कर्मचारी गोविन्द बरुवालले बताउनुभयो । आफ्नो कम्पनीको आम्दानीको हिस्सालाई सामाजिक एवम् मानवीय सेवामा सर्मपित गर्ने गरेका स्वर्गीय आरोही पूर्जाले आगामी दिनमा समेत गाउँको सेवाका लागि थप योजना बनाउनुभएको थियो ।











