म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदका लागि स्वर्गीय मातापिताको सम्झनामा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरिएको छ । बेनी नगरपालिका वडा नं ५ चिप्लेटीका पूर्णबहादुर खत्री, जनप्रिय माविका शिक्षक डा. नगेन्द्रबहादुर खत्री र क्षेत्रबहादुर खत्रीले स्वर्गीय बुबा पुषकबहादुर खत्री र आमा प्रेमकुमारी खत्रीको स्मृतिमा उक्त सहयोग गर्नुभएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा सहयोग गर्ने तीनैजना खेलकुदसहित विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेको अध्यक्ष संघका बानियाँको भनाई छ।

जिल्लाका लागि एक भलिबल कर्भडहलको निर्माण आवश्यकता रहेकाले अभियानका लागि विश्वभर आर्थिक संकलन अभियानलाई समेत तिब्रता दिएको अध्यक्ष बानियाँको भनाई छ।बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।
राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रिय तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा सञ्चालन गर्ने गरी हाल अस्थायी रुपमा बेनी नगरपालिकाको सहयोगमा मैदान तयार भएको छ ।
कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।











