पर्वतको कुश्मास्थित प्रादेशिक अस्पतालमा ड्युटीमा खटिएका नर्सिङ कर्मचारीमाथि हातपात तथा कुटपिट भएको छ । अस्पतालमा उपचाररत बिरामीका आफन्तले मादक पदार्थ सेवन गरी स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेका हुन् । १५ गते राति १२ बजे अस्पतालको अन्तरंग विभागमा उपचाररत कुश्मा नगरपालिका–२ का एक बिरामीका आफन्तले ड्युटीमा रहेका नर्सिङ कर्मचारीमाथि हातपात तथा दुव्र्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका अनुसार मादक पदार्थ सेवन गरी अस्पताल पुगेका बिरामीका आफन्तले उपचारमा खटिएका नर्सिङ कर्मचारीमाथि हातपात गर्नुका साथै गालीगलौज गरेका थिए । मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मान कायम राख्न सबै पक्षलाई सहयोग गर्न अपिल गरिएको छ ।
घटनालगत्तै अस्पतालको आन्तरिक सुरक्षा टोली र प्रहरी प्रशासनको सहयोगमा हातपात तथा अभद्र व्यवहार गर्ने मुख्य आरोपितलाई नियन्त्रणमा लिइएको अस्पताल प्रशासनले जनाएको छ । आरोपितलाई कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ ।
अस्पताल प्रशासनले कार्यक्षेत्रमै खटिएका स्वास्थ्यकर्मीमाथि भएको हिंसात्मक घटनाको भत्र्सना गरेको छ । चौबीसै घण्टा बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीमाथि हुने यस्ता गतिविधिले उनीहरूको मनोबल कमजोर बनाउने मात्र नभई समग्र स्वास्थ्य सेवा प्रवाहमै असर पार्ने अस्पतालको भनाइ छ ।
उपचारका क्रममा कुनै जिज्ञासा वा गुनासो भए कानुनी तथा प्रशासनिक प्रक्रियामार्फत समाधान खोज्न सकिने भए पनि कानुन हातमा लिएर स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्यकर्मीमाथि हुने शारीरिक, मानसिक वा लैंगिक हिंसा अस्वीकार्य र दण्डनीय रहेको जनाएको छ । स्वास्थ्य सेवा लिन आउने व्यक्तिले स्वास्थ्य संस्थाका नियम पालना गर्नुका साथै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको मर्यादा तथा सम्मान गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ८ को (घ) र (ङ) बमोजिम घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । अस्पताल प्रशासनले पनि दोषीलाई सोही ऐनबमोजिम कारबाही गर्न माग गरेको छ ।
मन्त्रालयका अनुसार चौबीसै घण्टा बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै हुने हिंसात्मक गतिविधिले उनीहरूको मनोबल गिराउनुका साथै उपचार सेवा नै प्रभावित पार्न सक्छ । मन्त्रालयले अस्पतालमा उपचाररत बिरामी, उनीहरूका आफन्त तथा अन्य सरोकारवालालाई संयमता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थलका रूपमा कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।















