परराष्ट्र मन्त्रालयले एकसाथ २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी गरेको छ ।
“एकसाथ २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी भइरहेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “आउँदो हप्ता करिअर र राजनीति गरी २१ जनालाई राजदूतमा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लग्ने तयारी भएको छ ।”
स्रोतका अनुसार परराष्ट्रले अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका, स्पेन, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्र संघीय नियोग भियनामा एक साथ राजदूत सिफारिस गर्न लागेको हो ।
“राजदूत नियुक्ति गर्दा करिअर र राजनीतिबाट ५०/५० प्रतिशत गर्ने परराष्ट्रको अभ्यास छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अहिले केही नियोगमा परराष्ट्रका करिअर डिप्लोम्याट राजदूत छन् । त्यसैले २१ राजदूत सिफारिस गर्दा करिअरलाई ६ वा ७ र बाँकी राजनीति कोटामा सिफारिस गर्ने तयारी छ ।”
हाल नेपालका विदेशमा ३१ दूतावास, तीन स्थायी नियोग र १० महाबाणिज्य दूतावास गरी कुल ४४ वटा नियोग छन् । यीमध्ये तीनवटा दूतावास र दुईवटा महाबाणिज्य दूतावास यस वर्षबाट बन्द गर्ने निर्णय सरकारले गरिसकेको छ । ती बन्द भएपछि २८ दूतावास, तीन स्थायी नियोग र आठ महाबाणिज्य दूतावास गरी कुल ३९ वटा नियोग हुनेछन् ।
सरकारले यसै वर्ष दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कका रहेका नेपाली दूतावास बन्द गर्दै छ । अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेङ्दुमा रहेको महाबाणिज्यदूतावास बन्द गर्दै छ । भारतको विशाखपटनममा रहेको दूतावासको शाखा पनि यसैवर्ष खारेज गरिँदै छ ।
सरकारले राजदूत नियुक्तिमा ढिलाई भएपछि कार्यकाल सकेर फर्कने तयारी गरिरहेका बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका निम्ति नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन निर्देशन दिएको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको थियो ।
हाल अमेरिकाको न्यूयोर्क, स्वीट्जरल्यान्डको जेनेभा र अस्ट्रियाको भियनास्थित तीनवटा राष्ट्रसंघीय स्थायी नियोगमा नेपाली राजदूत छन् ।
बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, भियना, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा पनि राजदूत छन् ।
तर, बहराइन, बंगलादेश, इजिप्ट, म्यानमार र भियनाका राजदूतहरूको कार्यकाल समाप्त भएकाले त्यहाँ राजदूत सिफारिस नहुन्जेल उनीहरूको कार्यकाल थप गरिएको हो । ब्राजिलस्थित दूतावास भने बन्द हुने सूचीमा छ ।
अहिले अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका र स्पेनमा रहेका १६ नेपाली दूतावास राजदूतविहीन छन् ।
“अहिले खाली रहेका १६ सहित चार वर्षे कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्र संघीय नियोग भियनासहित जम्मा २१ नियोगमा एकसाथ राजदूत नियुक्त गर्न लागिएको हो,” स्रोतले भन्यो ।
स्रोतका अनुसार करिअर डिप्लोम्याटको रूपमा राजदूतमा सिफारिस गर्न लागिएकामा परराष्ट्र मन्त्रालयको युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उत्तरपूर्वी एसिया महाशाख प्रमुख भृगु ढुंगाना, उत्तर तथा दक्षिण अमेरिका महाशाखा प्रमुख दिलीपकुमार पौडेल, शिष्टाचार महापाल कुमारराज खरेल, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुख विष्णुप्रसाद गौतमलगायत छन् ।
राजनीतिक कोटामा नियुक्ति हुनेको सूची भने गोप्य राखिएको छ । राजनीतिक कोटामा राजदूत नियुक्तिको लागि परराष्ट्रले २०८३ जेठ १४ गते एक सूचना प्रकाशित गर्दै रिक्त रहेकामध्ये १३ देशका राजदूताको लागि आवेदन मागेको थियो ।
परराष्ट्रले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाको लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो ।
विभिन्न १३ देशका राजदूतको लागि झण्डै चार हजार आवेदन परेका थिए । परराष्ट्र मन्त्रालयले करिब तीन हजार जनाबाट ती आवेदन प्राप्त गरेको थियो ।












