जल तथा मौसम विज्ञान विभागले म्याग्दी र कालिगण्डकी नदीसहित जिल्लामा बग्ने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ । बाढी पूर्वानुमान महाशाखाको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले थप दुई दिन बेनी दरबाङ सडक र बेनी जोमसोम सडकमा रात्रीकालिन समयमा सिमाबाट सवारीसाधन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बेनीअनलाइनलाई बताउनुभयो ।

जिल्लाभित्र साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनलाई कडाई गरिएको छ । मौसमको अवस्थाअनुसार प्रतिबन्धको अवधि थप्न सकिने समेत सुरक्षा समितिले निर्णय गरेको छ । दुबै सडकखण्डमा रहेको पहिरो र बाढीग्रस्त क्षेत्रमा रात्रीकालिन समयमा सवारीसाधनमा आवतजावत गर्दा मानवीय क्षतीको जोखिमलाई मध्यनजर गरी कडाई गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।













