हरिकृष्ण गौतम
भुटानको थिम्पुमा अयोजना हुने काभा बिच भलिबलमा नेपालको जर्सीमा पुरुष र महिला टोलीबाट म्याग्दीका झमान सिङ दर्जी र कमला पुन खेल्नुहुने भएको छ । आगामी भदौ १५ देखि २१ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाल प्रहरीबाट मालिका गाउँपालिका–२, खवाङका दर्जी र मालिक–३ रुम औलकी पुन काभा बिच भलिबल खेलका लागि छनौट हुनुभएको हो ।
नेपाल भलिबल संघले प्रतियोगिताका लागि भएको छनोट खेलमा पुरुषतर्फ दर्जी र महिलामा पुनको जोडी च्याम्पियन भएको हो । काभाका लागि राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने दुबै समुहमा म्याग्देली खेलाडीले प्रतिनिधित्व गर्नु गौरबको विषय भएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बेनीअनलाइनलाई बताउनुभयो ।
‘काभा भलिबलमा नेपालको विगत निकै राम्रो छ, यसपटक पनि उपाधि भित्रिने छ’ महासचिव किसानले भन्नुभयो । सामान्य भलिबल खेलमा समेत मैदानमा निकै उत्कृष्ट खेल देखाउने खेलाडीद्धय दर्जी र पुनमार्फत म्याग्दीमा समेत बिच भलिबललाई प्रोत्साहन गर्न सकिन्छ ।
सामान्य भलिबल जस्तो हल वा कडा मैदानमा लेख्ने गरिएपनि काभा बालुवाको मैदानमा खेलिने भलिबल खेल हो । पुरुष टोलीमा आवद्ध दर्जी विगत ६ बर्षदेखि नेपाल पुलिस क्लवमा आवद्ध छन् । स्वास्थ्यमा केही समस्या देखिएका कारण राष्ट्रिय टोलीमा प्रवेश गर्न नपाएका दर्जीले काभाबाट नेपाली झण्डासहित प्रतियोगितामा सहभागि हुनेछन् ।
त्यस्तै विभागीय टोली नेपाल प्रहरीकी क्याप्टेन पुनले बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा कप्तानीमा बिच भलिबल लगातार तीनपटक जित्न सफल हुनुभएको थियो । बिस २०६८ सालमा नेपाल प्रहरीको राष्ट्रिय टोलीमा करार खेलाडीको रुपमा प्रवेश गरी १२ औं सार्क राष्ट्रस्तरीय प्रतियोगितापछि लगातार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागि हुनुहुन्छ ।










