म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरको दर्शनका लागि शनिबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा पुग्नुभएको छ । शक्तिपीठको रुपमा रहेको मन्दिरको प्रधानन्यायाधीश शर्माले शनिबार बिहान मन्दिरको पूजा–आजासहित धार्मिक महत्वका बारेमा जानकारी लिनुभएको थियो ।

अदालतहरुको स्थलगत अनुगमन तथा भ्रमणका लागि म्याग्दी आउनुभएका प्रधानन्याधिश शर्मा परिवारका सदस्य तथा जिल्ला न्यायाधिस सुर्यबहादुर थापासहित सुरक्षा अधिकारीलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले स्वागत गर्नुभएको थियो । प्रधानन्याधिश शर्मालाई मुक्तिनाथ मन्दिरको प्रवेशद्धार गलेश्वरको गुरुयोजनासहित विविध विषयमा जानकारी गराइएको कार्यालय सचिव मदन खत्रीले जानकारी दिनुभयो ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ। प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै जान थालेको छ। गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन्। मन्दिरभित्र शिव लगायतका भगवानहरुको मूर्तिहरु राखिएको छ।









