नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे, म्याग्दीको आयोजना तथा माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय बेनीको व्यवस्थापन तथा संयोजनमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसिसी) ५२औँ ब्याच क्याडेट तालिमका सहभागीले शुक्रबार प्रतिभा प्रदर्शन गरेका छन्।
गत असार १ गतेदेखि माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको तालिमअन्तर्गत विद्यालयमा आयोजित प्रतिभा प्रदर्शन तथा शुभकामना प्रदान कार्यक्रममा क्याडेटहरूले ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, वक्तृत्वकला तथा नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले अनुशासन, शारीरिक दक्षता, नेतृत्व क्षमता तथा सिर्जनशीलता झल्किने प्रस्तुति दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख तथा विद्यालय सञ्चालक समितिका सदस्य सुरत केसीले क्याडेटहरूले गरेको प्रतिभा प्रदर्शन प्रशंसनीय रहेको बताउँदै तालिमका क्रममा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिनुभयो। उहाँले आगामी दिनमा केन्द्रस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरी बेनी नगरपालिका र विद्यालयको नाम राष्ट्रियस्तरमा चिनाउन क्याडेटहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा विद्यालय सञ्चालक समितिका सदस्य सुबिन श्रेष्ठ, बुद्ध एकेडेमीका भाइस प्रिन्सिपल डिलबहादुर विश्वकर्मा र गुरु गोरख गुल्मका गुल्मपति सेनानी राकेश बस्नेतलगायतले क्याडेटहरूको प्रतिभा, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै तालिम सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। वक्ताहरूले एनसिसी तालिमले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, राष्ट्रप्रेम र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
विद्यालयका प्रिन्सिपल राजु केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाइस प्रिन्सिपल काजी थापाले स्वागत मन्तव्य र सिनियर कोअर्डिनेटर ध्रुवसागर शर्माले सञ्चालन गर्नुभएको थियो।











