---Advertisement---

म्याग्दीमा सुन सफा गर्ने भन्दै ठगी गर्ने चार भारतीय पक्राउ

On: August 21, 2026 9:56 PM
Follow Us:

म्याग्दीमा सुन सफा गर्ने भन्दै विभिन्न केमिकल प्रयोग गरी गरगहनाको तौल घटाएर ठगी गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मालिका गाउँपालिका–६, दरबाङ क्षेत्रमा गरगहना सफा गर्ने भन्दै विभिन्न केमिकल प्रयोग गरी गरगहनाको तौल घटाइ ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी थालेको थियो।

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दरबाङ, जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा मातहतका प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले मालिका गाउँपालिका–६ दरबाङ र बाबियाचौर क्षेत्रबाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो । पक्राउ पर्नेहरूमा भारतको बिहार प्रदेश, खगरिया जिल्लाका विक्रम कुमार (२९ वर्ष), सञ्जीत कुमार (३२ वर्ष), राज कुमार साह (३५ वर्ष) र सन्नी कुमार दास (२९ वर्ष) रहेका छन्।

प्रहरीका अनुसार उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले सुन तथा गरगहना सफा गर्ने बहानामा अपरिचित व्यक्तिले विभिन्न रसायन प्रयोग गर्न खोजेमा सतर्क रहन तथा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

Leave a Comment