प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ आउने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम–कोरला सडक अन्तरगत दुई स्थानमा बाढीपहिरोले सडक अवरुद्ध भएको छ । उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने रघुगङ्गा गाउँपालिका-२ सिरुबारी र अन्नपूर्ण–३ दानाको सुकेबगरखण्ड पहिरोले अवरुद्ध भएको छ ।
गएरातीको बर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध भएको पहिरो पन्छाउन आयोजनाका तर्फबाट स्काभेटर लगायतका उपकरणसहित जनशक्ती परिचालन गरिएको छ । सिरुबारी, सुकेबगर र भुरुङ तातोपानी खण्डको अवरोध पन्छाउन करिब दुईघण्टा बढी लाग्ने अनुमान गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्रमुख तेजस्वी शर्माले बताउनुभयो । आयोजना प्रमुख शर्माले भन्नुभयो,‘‘सडकखण्डको सबै अवरुद्ध हटाउन विहानैदेखि सक्रिय छौ, अन्य स्थानमा कुनै समस्या छैन ।’’
बेनी–जोमसोम सडकको म्याग्दी खण्डको करिब २० किलोमिटर बाढीपहिरोग्रस्त मानिन्छ । प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको क्रममा सडकखण्डका मुख्य समस्याका बारेमा सम्भव भएसम्म निरीक्षण तथा जानकारी गराउने आयोजनाले जनाएको छ । प्रधानमन्त्री शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण इको भिलेजबाट विहान साढे ९ बजे सडकमार्ग हुदै मुस्ताङतर्फ प्रस्थान गर्ने स्रोतले जनाएको छ ।









