दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । रसुवा लगायतका जिल्लामा महाविपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहकारीले १ लाख ५९ हजार ५४५ रुपैयाँ सहयोग गरेको हो ।
सदरमुकाम बेनीबजारमा महिलाहरुको आफ्नै नेतृत्व र व्यवस्थापनमा सञ्चालित सहकारीले रसुवामा आएको बाढीले देशमै महाविपत्तिको अवस्था सिर्जना भएको अवस्थामा सानो सहयोग गरेको अध्यक्ष सुगम श्रेष्ठले बताउनुभयो ।
सहकारीले विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको उद्धार तथा उपचार र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सबैले हातेमालो गर्नु पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । वि.सं. २०६८ सालमा स्थापना भएको दिदीबहिनी सहकारीमा अहिले कुल ८ सय ६३ जना शेयर सदस्यहरु आबद्ध छन् । सहकारीले सामाजिक कार्यअन्तर्गत मुठ्ठीदान अभियान कार्यक्रममार्फत म्याग्दीमा विभिन्न सहयोग गर्ने गरेको छ ।











