ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीले हिन्दुहरुको पर्व रक्षा बन्धनको अवसरमा सामूहिक पवित्रता, प्रेम र एकताको प्रतीक रक्षा सूत्र (राखी) लगाएर मनाइएको छ । बेनपा–७, बेनीमा रहेको केन्द्रमा विश्व विद्यालयकी प्रमुख संचालिका रिनाले राष्ट्रसेवकलाई प्राकृतिक विपत्तीमा राहत तथा उद्धारमा थप उर्जाको कामना तथा सहभागीहरुलाई राखी लगाइदिनुभएको थियो ।
समाजमा सद्भाव, प्रेम र नैतिकतालाईक कायम राख्न सबैभन्दा पहिला सकारात्मक सोच आवश्यक रहेकाले रक्षाबन्धले समाजमा दाइ बैनीको सम्बन्धलाई अझ मजमुद बनाउन प्रेरणा मिल्ने बताइएको थियो । यसैबिच जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरीले समेत सामुहिक राखी लगाइएको थियो ।
प्रहरी नायव उपरीक्षक राजन कार्की, प्रहरी निरीक्षकद्धय सागर तिमिल्सिना, भुपेन्द्र गोतामे लगायत प्रहरीलाई जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित कर्मचारीहरू पर्व मनाउन घर जान नपाउने अवस्थामा उनीहरूको दिदीबहिनी भएर राखी बाँधेर नाता जोडेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले जनाएको छ ।
उक्त अवसरमा समाजलाई महिला हिंसाबाट मुक्त गरी सभ्य समाजको निर्माण गर्न रक्षा बन्धनको महत्वपूर्ण भूमिका रहेको बताइएको थियो । यसैबीच केन्द्रले जिल्ला बाल संगठन अन्तरगत सञ्चालित बालगृहमा रहेका बालबालिकालाई समेत रक्षा बन्धन लगाइदिएको छ ।आज जनै पूर्णिमाको अवसरमा जनै फेर्ने र डोरो बाँध्ने कार्य गरी जनैपूर्णिमा मनाइएको छ ।











