म्याग्दीमा शुक्रबार हुने चर्चित गायक प्रकाश दुतराजको सांगीतिक यात्राको नयाँ अभ्यास स्थगित भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रतिम्याग्दी उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै पूर्वनिर्धारित सांगीतिक कार्यक्रम स्थगित गरेको हो ।
संघका महासचिव नारायण घर्ती क्षेत्री र अध्यक्ष सुविन श्रेष्ठद्धारा प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरिएको छ । बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गदैं दुतराजको सांगीतिक ब्यान्ड घोषणा तथा सांगीतिक कार्यक्रम तत्कालका लागि स्थगित गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेपाली संगीत क्षेत्रमा आधुनिकता र परम्परागत लोकधुनलाई सुन्दर ढंगले संयोजन गर्दै नयाँ स्वाद प्रस्तुत गरिरहेका दुतराजले आफ्नै ‘दुतराज प्रकाश एण्ड नयाँ अभ्यास’ लोक सांगीतिक म्युजिक ब्याण्ड सार्वजनिक कार्यक्रमको संयोजक यूकेमा रहेका किसान जिसी र आयोजक संघले गरेको थियो ।
आगामी दिनमा अनुकुल समय मिलाएर कार्यक्रमलाई निरन्तरता दिइने छ । परम्परागत वाद्ययन्त्र मादल, सारंगी र बाँसुरीलाई आधुनिक गिटार तथा ड्रमसँग संयोजन गर्दै फ्युजन शैलीमा प्रस्तुति दिँदै आएका दुतराजले नयाँ ब्याण्डमार्फत पनि यही सांगीतिक शैलीलाई निरन्तरता दिने तयारी थियो ।










